देउवा निवासमा ‘सेलेक्टेड नेताको’ गोप्य भेला- खोजियो शशांकको साथ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आन्तरिक र राष्ट्रिय राजनीतिका विषयमा आफूलाई साथ दिन महामन्त्री डा. शशांक कोइरालासँग आग्रह गरेका छन् ।

संसद विघटनपछि उत्पन्न परिस्थितिमा पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाबाट तीव्र आलोचना खेपिरहेका बेला देउवाले कोइरालाको साथ खोजेका हुन् ।

सभापति देउवा आफैंले फोन गरेर आइतबार बिहानै महामन्त्री कोइरालालाई आफ्नो निवासमा आउन आग्रह गरेका थिए । कांग्रेस वृत्तमा गोप्य राख्न भनिएको भेटमा सभापति देउवा, महामन्त्री कोइराला, अर्का महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक उपस्थित थिए ।

देउवाले बोलाएपछि बिहान ११ नबज्दै खाना खाएर कोइराला बूढानीलकण्ठ पुगेका थिए । नेताहरुबीच करीब दुई घण्टा छलफल भएको थियो ।

बैठकमा सभापति देउवाले आफ्ना बाध्यताहरु सुनाएका थिए । प्रमुख प्रतिपक्षी दलको हैसियतमा संवैधानिक परिषदमा आफ्नो भूमिका स्वाभाविक भए पनि नेकपा विवादका कारण त्यसलाई अतिरञ्जित गरिएको देउवाको गुनासो थियो ।

‘संवैधानिक नियुक्तिका विषयमा धेरै पहिला कुरा भइसकेको हो । सबैथोक बिग्रेपछि निर्णय भएकोले अप्ठ्यारो पर्यो’, देउवालाई उद्धृत गर्दै स्रोतले भन्यो । सभापति देउवाले सोमबारको प्रदर्शन, त्यसपछि पार्टीले लिनुपर्ने नीति र महाधिवेशन समेतका बारेमा छलफल गरेका थिए ।

नेकपाभित्र विवाद बढेको भए पनि प्रधानमन्त्री केपी ओलीले संसद भंग गर्लान् भन्ने आफूले नठानेको देउवाले बताए । प्रधानमन्त्री ओलीसँग मिल्यो भनेर आफूलाई लगाइएको आरोपको पनि देउवाले खण्डन गरेका छन् ।

‘प्रधानमन्त्रीले भेटौं भनेपछि भेट्नै पर्यो । भेट्ने वित्तिकै मिल्यो भन्दिने ?’ देउवाको प्रश्न थियो ।

विगतमा भन्दा खुलेर प्रस्तुत भएका देउवाले पार्टीभित्र अनावश्यक विषयमा आफूलाई दुःख दिने प्रयास भइरहेको बताएका थिए । ‘संसद विघटनको विरोध गरेकै छु । आन्दोलन घोषणा भएकै छ तर अदालत पनि त छ’, देउवाको भनाइ थियो ।

उनले सोमबारको प्रदर्शनलाई सफल र संयमित बनाउनुपर्नेमा जोड दिएका थिए । ‘सडकबाट संसद पुनःस्थापना गर्नुभन्दा अदालतको निर्णय हेरेर चुनावमा जानु कांग्रेसको हितमा हुन्छ । कार्यकर्ताको मूड पनि बुझ्नुपर्यो नि’, देउवाको भनाइ थियो ।

सभापति देउवाले महामन्त्री कोइरालातर्फ इंगित गर्दै ‘मलाई सघाउनुपर्यो’ भनेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार महामन्त्री कोइरालाले केन्द्रीय समिति बैठकमा सबैको कुरा सुन्न र आलोचना सहन देउवालाई सुझाएका थिए ।

‘सबैको कुरा सुनौं । राजनीतिक निर्णय विस्तारै लिनुपर्छ । रिसाउन हुँदैन’, कोइरालाको भनाइ थियो । महामन्त्री कोइरालाले संसद विघटनविरुद्ध आन्दोलन गर्नुपर्ने आफ्नो पनि धारणा रहेको बताएका थिए । यद्यपि विवाद बढ्न नदिन सबैसँग संवादको पहल गर्न आफू तयार रहेको कोइरालाको भनाइ थियो ।

बैठकमा सहभागी देउवा पक्षका नेताहरुले पार्टीको आन्तरिक र राष्ट्रिय मुद्दाहरुमा सभापति र महामन्त्रीको धारणा एउटै बनाएर जाँदा सबैलाई फाइदा हुने बताएका थिए । छलफलमा महाधिवेशन टार्ने आफ्नो योजना नरहेको देउवाले सुनाएका थिए । महामन्त्री कोइरालाले आन्दोलन, महाधिवेशन र निर्वाचनबारे पार्टीभित्र समझदारी बनाएर जानुपर्नेमा जोड दिएका थिए ।

दुई घण्टा निरन्तर छलफल गरेका नेताहरु पौने दुई बजेतिर बूढानीलकण्ठबाट बाहिरिएका थिए । कांग्रेसवृत्तमा यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । जहाँ वरिष्ठ नेता पौडेल मात्रै होइन, उपसभापति विमलेन्द्र निधिसमेत बोलाइएका थिएनन् ।नेपाल प्रेस

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’