कास्कीको बिरेठाँटी–मुक्तिनाथ केबलकार र दमक औद्योगिक पार्कको डिपिआर बोर्डमा

काठमाण्डौँ – लगानी बोर्ड नेपाल (आइबिएन)ले सहजीकरण गरिरहेकामध्ये चार ठूला आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) र विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डिएफएसआर) तयार भएको छ । परियोजना विकासकर्ताले दुईवटा परियोजनाको डिपिआर र दुईवटाको डिएफएसआर लगानी बोर्डमा पेस गरेका छन् ।
झापाको दमकमा बन्ने ‘चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्क’ परियोजना र बिरेठाँटी–मुक्तिनाथ केबलकार परियोजनाको डिपिआर बोर्डमा पेस भएको प्रवक्ता धर्मेन्द्रकुमार मिश्रले बताए । दमक क्लिन इन्डस्ट्रियल पार्कले २९ मंसिरमा औद्योगिक पार्कको डिपिआर र मुक्तिनाथ दर्शन प्रालिले १४ मंसिरमा केबलकार परियोजनाको डिपिआर बोर्डमा पेस गरेको उनले जानकारी दिए । ‘बोर्डसँग गरिएको समझदारीअनुसार परियोजना विकासकर्ताहरूले बोर्डमा डिपिआर पेस गरेका छन्,’ उनले भने, ‘अब हामी दुवै परियोजनाको डिपिआर अध्ययन तथा मूल्यांकन गरेर छिट्टै बोर्डको बैठकमा पेस गर्नेछौँ ।’
चिनियाँ सरकारको सहयोगमा दमकमा बन्ने औद्योगिक पार्कको लगानीसमेत स्वीकृत भइसकेको छ । १७ साउन २०७६ मा सम्पन्न बोर्डको ३९औँ बैठकले उक्त परियोजना निर्माणका लागि ५८ करोड ६१ लाख अमेरिकी डलरबराबरको लगानी स्वीकृति गरेको थियो । उक्त परियोजना ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन, जिङपिङ ज्वाइन्ट क्रिएसन कन्स्ट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनी लिमिटेड (जेपिजैसिसिपिडी) र दमक क्लिन इन्डस्ट्रियल पार्कको संयुक्त लगानीमा निर्माण हुन लागेको हो ।

अहिले यस परियोजनाका लागि जग्गा अधिग्रहणलगायतका काम भइरहेको छ । २७ भदौ २०७५ मा बोर्ड र मुक्तिनाथ दर्शन प्रालिबीच बिरेठाँटी–मुक्तिनाथ केबलकार निर्माण तथा सञ्चालनका लागि सम्झौता भएको थियो । यस परियोजनाको लागत करिब ३५ अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ । कुल ८०.१६ किमि लामो प्रस्तावित केबलकार बिरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथसम्मको हुनेछ ।

दुई परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन
दुई वर्षअघि सम्पन्न लगानी सम्मेलनमा प्रस्तुत भएका दुईवटा परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनसमेत तयार भएको छ । वीरगन्ज र भैरहवामा निर्माण हुने प्राइभेट फ्रेट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फ्यासिलिटिज परियोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन मंगलबार बोर्डमा पेस भएको छ ।

परियोजना विकासकर्ता कम्पनी फ्लास फ्रेट लजिस्टिक एन्ड इन्टरनेसनल कार्गो टर्मिनल एन्ड इन्फास्ट्रक्चर प्रालिले मंगलबार उक्त परियोजनाको डिएफएसआर बोर्डमा पेस गरेको हो । उक्त डिएफएसआरका लागि लगानी बोर्डको कार्यालय र विकासकर्ताबीच १५ मंसिर २०७६ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

त्यस्तै, विराटनगरमा निर्माण हुने मल्टिमोडल लजिस्टिक पार्क परियोजनाको डिएफएसआर पनि बोर्डमा पेस भएको हो । परियोजना विकासकर्ता कम्पनी सिजी लजिस्टिक प्रालि र सर्राफ ग्रुपले मंगलबार नै उक्त परियोजनाको डिएफएसआर पेस गरेको हो । उक्त परियोजनाको डिएफएसआरका लागि बोर्ड र विकासकर्ता कम्पनीबीच २ असार २०७६ मा हस्ताक्षर भएको थियो ।

आवश्यक अध्ययन तथा मूल्यांकन गरेर दुवै परियोजनाको डिएफएसआर बोर्ड बैठकमा पेस गरिने मिश्रले बताए । दुवै परियोजना निर्माणका थप प्रक्रिया अघि बढाउन बोर्डले सहजीकरण गर्ने उनले बताए ।

होङ्शी शिवम्मा जेठभित्रै प्रसारण लाइन
नेपाल विद्युत् प्राधिकरणले आगामी जेठभित्रै होङ्शी शिवम् सिमेन्ट परियोजनामा विद्युत् आपूर्तिका लागि प्रसारण लाइन निर्माण गरिदिने भएको छ । लगानी बोर्डमा मंगलबार आयोजित छलफल कार्यक्रममा प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आगामी जेठभित्र होङ्शी शिवम् सिमेन्ट परियोजनाका लागि प्रसारण लाइन निर्माण गरी विद्युत् आपूर्तिको व्यवस्था गर्ने प्रतिबद्धता गरेका हुन् ।

बोर्डको समन्वयमा बोर्ड कार्यालय, विद्युत् प्राधिकरण र होङ्शी शिवम् सिमेन्ट परियोजनाका पदाधिकारीहरूबीच उक्त परियोजनाका लागि आवश्यक विद्युत् प्रसारण लाइन निर्माणमा देखिएका समस्या समाधानका लागि मंगलबार छलफल गरिएको हो । छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले प्रसारण लाइन निर्माण छिट्टै गरिने बताए । उक्त अवसरमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले ठूला परियोजनाको कार्यान्वयनमा बोर्डले आवश्यक सहजीकरण गरिरहेको बताए ।

ठूला परियोजनाले रोजगारीलगायत देशको समग्र आर्थिक विकासमा उल्लेख्य योगदान पुर्‍याउने उल्लेख गर्दै उनले यस्ता परियोजनाहरूको कार्यान्वयनमा आवश्यक सहजीकरणका लागि बोर्डले सक्दो प्रयास गरिरहेको बताए । बैठकमा लगानी बोर्डका सहसचिव मिश्रले परियोजनाहरूलाई समयमै सम्पन्न हुने व्यवस्थाको सुनिश्चितताका लागि लगानी बोर्ड कार्यालय सदैव सक्रिय रहेको बताए ।
नयाँपत्रिकावाट

Share this:


सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’