मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउनै गाह्रो


पर्वत : जिल्लामा मुस्लिम समुदायका बालबालिकालाई विद्यालयमा टिकाउन कठिन देखिएको छ।

बिहान मदरसामा कक्षा लिए पनि दिउँसो चल्ने साधारण धारतर्फका कक्षामा उनीहरूको संख्या कम हुँदै जाने गरेको छ। साना कक्षामा भर्ना भएका मुस्किलले केही १२ कक्षासम्म पुगेका छन्।

कक्षा एक देखि १२ सम्म पढाइ हुने शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँ सुरुमा भर्ना भएका सबै विद्यार्थी शैक्षिक सत्रको अन्त्यसम्म नरहने बताउँछन्। चालु शैक्षिक सत्रमा कक्षा ११ र १२ मा ४/५ तथा १० कक्षासम्म करिब २० विद्यार्थी मुस्लिम समुदायका रहेको उनले बताए।

स्नातक तहमा भने मुस्लिम समुदायका विद्यार्थी नरहेको सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र पहाडी बताउँछन्। ‘मलाई लाग्छ अहिलेसम्म यो जिल्लामा मुस्लिम समुदायबाट ब्याचलर लेभल पास गरेको कोही छैन’, उनी भन्छन्, ‘कक्षा १२ सम्मको अवस्थालाई हेर्दा छात्र भन्दा छात्राको संख्या धेरै देखिएको छ। तर स्नातक तहमा भर्ना हुने छैनन् भन्दा फरक पर्दैन।

क्याम्पसका निवर्तमान प्रमुख कमलनाथ शर्माले आफ्नो कार्यकालमा एक जना विद्यार्थी मात्रै स्नातक तहको दोस्रो वर्षसम्म रहेको भए पनि त्यहीँबाट अध्ययन छाडेको बताउँछन्। सानै कक्षाबाट क्रमिक रूपमा विद्यालय छाड्ने गरेका उनीहरू माथिल्लो तहसम्म पुग्न नसक्दा राज्यको मूलधारबाट पछाडि पर्ने अवस्था भइरहने उनको बुझाइ छ।

मदरसा अभावमा समय व्यवस्थापनमा देखिएको कठिनाइले मदरसामा देखिने मध्येका ५० प्रतिशत बालबालिका साधारण धारतर्फका सामुदायिक विद्यालयमा औपचारिक शिक्षा लिन नसक्ने अवस्थामा रहेको मदरसाका सचिव अस्गर अलि मिया बताउँछन्। छुट्टै मदरसा नहुँदा मस्जिदमा नै राखेर धार्मिक शिक्षा लिनुपर्दा समस्या भएकाले बालबालिकाहरूमा शिक्षाप्रति रुचि नभएको उनको भनाइ छ। मुस्लिम समुदायले आफ्ना बालबालिकाहरूलाई शिक्षाप्रति आकर्षित गर्न सार्वजनिक स्थानमा वा कहीँ कतै जग्गाको व्यवस्थापन गरेर मदरसाको निर्माण गरिदिन कुश्मा नगरपालिकालाई अनुरोध गर्दै आइरहेको छ।

उनीहरूको माग राम्रो भए पनि विद्यालय दर्ता नै नभएको अवस्थामा सार्वजनिक जग्गा उपलब्ध गराउन नसकिने कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङ बताउँछन्। मदरसालाई औपचारिक रूपमा सञ्चालन गर्न विद्यालय दर्ता गरेर कानुनी प्रक्रिया पूरा गरेपछि मात्रै साधारण धारतर्फका विद्यालयले पाएको जस्तै सुविधा मदरसाले पनि पाउँछन्।

दर्तामा नै नरहेको मदरसालाई राज्यले विद्यालयका रूपमा नहेर्ने भएकाले अन्य विद्यालयले पाएको जस्तै शिक्षक दरबन्दी, विद्यार्थीको लागि खाजा, भौतिक पूर्वाधार लगायतका सुविधा दिन नसकेको गुरुङले बताए। ‘समृद्धि र समानुपातिक विकासका लागि राज्यका हरेक समुदायले बराबर महत्त्व पाएको हुनुपर्छ। त्यसका लागि हामी तयार छौँ’, उनले भने, ‘तर मदरसा दर्ता नै नभएका कारण राज्यले उपलब्ध गराउँदै आएका सुविधा दिन सकिएको छैन। पहिले त मदरसा दर्ता भएको विद्यालय बन्नुपर्छ।’

मुस्लिम समुदायको शैक्षिक अवस्था सुधारको प्रयास गर्दै आइरहेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल पर्वतका संयोजक यज्ञप्रसाद शर्माले सानै उमेरमा विवाह गर्ने चलन, शिक्षामा भन्दा व्यापार व्यवसायमा भएको आकर्षण, आर्थिक समस्या लगायतका कारण उनीहरू विद्यालयमा टिक्न नसकेको बताउँछन्।बालबालिकालाई विद्यालयमा टिकाउन अभिभावकको भूमिका महत्त्वपूर्ण हुने उनी बताउँछन्।

मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने मदरसा पर्वत जिल्लाभर नै अहिलेसम्म स्थापना हुन सकेका छैनन्। सदरमुकाम कुश्मा बजारमा रहेको मस्जिदमा मदरसा सञ्चालन भएको भए पनि यो दर्ता समेत भएको छैन। मदरसाको आवश्यकताबारे पटक–पटक आवाज उठाए पनि कतैबाट सुनुवाइ नभएको मुस्लिम अगुवाको गुनासो छ। थाहाखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’