पर्वतको कुश्माका २० विद्यालयमा ‘सेनीटरी नेप्कीन भेन्डिङ मसिन’

पर्वत/ पर्वतको कुश्मा नगरपालिकाका २० वटा विद्यालयमा ‘सेनीटरी नेप्कीन भेन्डिङ मसिन’ जडान गर्न सुरु गरिएको छ।

विद्यालयमा सेनीटरी प्याड व्यवस्थापन गर्नको लागि संघीय सरकारले दिन सुरु गरेको अनुदानअन्तर्गत नगरपालिकाको शिक्षा शाखाले कक्षा ६ देखि १२ सम्म पठनपाठन हुने २० विद्यालयमा करिब ५ लाख रुपैयाँको लागतमा ‘सेनीटरी नेप्कीन भेन्डिङ मसिन’ जडान गर्न सुरु गरिएको हो।

मंगलबार सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयमा पहिलो मसिन जडान गर्दै नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले मसिन जडान अभियानको सुरुवात गरेकी हुन्। त्यस क्रममा बोल्दै उनले महिनावारी भएको बेलामा छात्राहरू विद्यालय नै नआउने र आएकाहरूले पनि शिक्षकसँग प्याड माग्न लजाउँदा प्रयोग नै नगर्ने अवस्था रहेकोले छात्राहरू स्वयंले आफ्नो इच्छा अनुसार प्याड लिन पाउने बताइन्।

‘छात्राहरूले खुलेरै आफूलाई प्याड चाहिएको कुरा बताउन सकस मान्दा प्रयोग नै नगर्ने तथा महिनावारी भएको बेलामा घरमै बस्ने अवस्था पनि रहेको देखिन्छ,’ उपप्रमुख रिजालले भनिन्, ‘प्रयोग गरिएका सेनीटरी प्याडको व्यवस्थापन अर्को महत्त्वपूर्ण पक्ष हो। व्यवस्थापन गर्ने ठाउँको अभावमा पनि प्रयोग नभएको हुन सक्छ। त्यसका लागि नगरपालिकाले यसको डिस्पोजको लागि पनि अब व्यवस्थापन गर्ने छ।’
नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीका अनुसार उक्त मसिनमा ५० ओटा सेनीटरी प्याड भरेर राखिएको हुन्छ। धातुबाट बनेको विशेष सिक्का खसालेपछि मसिनबाट अटोमेटिक रूपमा सेनीटरी प्याड खस्छ। कुश्मा नगरपालिकामा सञ्चालन रहेकामध्ये २० ओटा विद्यालयमा ६ देखि १२ कक्षासम्मको पठनपाठन हुने गरेको र ती विद्यालयमा झन्डै २५ सय छात्राहरू अध्ययनरत रहेको उनको भनाइ छ। आर्थिक वर्ष २०७७÷७८ बाट विद्यालयमा सेनीटरी प्याड निःशुल्क रूपमा उपलब्ध गराउन थालिएको र पहिलो वर्ष कुश्मा नगरपालिकामा २८ लाख मूल्यका प्याडहरू विद्यालयमा पठाइएको तिवारी बताउँछन्।

‘नगरपालिकामा रहेका १८ वटा माध्यमिक र २ ओटा निम्न माध्यमिक तहका विद्यालयमा केही मसिन राखिँदै छन्। प्याड लिन शिक्षकसँग आफू महिनावारी भएको कुरा जानकारी गराउनुपर्ने बाध्यताको अन्त्य गर्न मसिन राखिएको हो,’ उनले भने, ‘प्याड वितरण भए पनि विद्यालयमा डिस्पोजको समस्या रहेको गुनासो पनि आएका छन्। सके यसै वर्ष नत्र अर्को वर्षमा व्यवस्थापनको उचित विधिको प्रयोग गर्ने छौँ।’
पहिलो मसिन जडान गरिएको नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलले सरकारले उपलब्ध गराएको प्याडले महिनावारी भएको बेलामा छात्राहरू विद्यालय नआउने समस्या हटेको बताए। सेनीटरी प्याडको व्यवस्थापन भए पनि महिनावारी भएको बेलामा पेट दुख्ने लगायतका समस्याका कारण छात्राहरू विद्यालय आएर पनि घरमा फर्किने गरेका कारण विद्यालयमा हुन सक्ने सामान्य दुर्घटनाको प्राथमिक उपचार, विद्यार्थीको स्वास्थ्य परीक्षण र महिनावारीको अवधिमा छात्राले भोगिरहेका समस्या समाधान गर्न विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्थापन पनि आवश्यक रहेको बताए। सेनीटरी प्याडको व्यवस्थापनमा पनि सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ।

‘म्याडमलाई फोकल पर्सन बनाएर आवश्यकता अनुसार प्याड वितरणको काम भइरहेको छ। यो मसिन भएपछि छात्राहरूलाई झनै सहज होला,’ उनले भने, ‘यसको व्यवस्थापनको बारेमा सरकारले केही सोच्नुपर्छ। प्रयोग भएका प्याडहरू विद्यार्थीहरूले मनलाग्दी तरिकाले फालिरहेका हुन्छन्, जुन अरूले उठाएर एकत्रित गर्न पनि कठिन हुन सक्छ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’