बिदामा पनि खुल्ने पर्वतको शान्ति आधारभुत विद्यालय- सार्वजनिक बिदा, बन्दरहडतालमा पनि नियमित पढाई

पर्वत / सरकारले जेठ पहिलो सातादेखि आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गर्‍यो । सोहीअनुसार देशभरका सार्वजनिक कार्यालयसँगै शैक्षिक संस्थासमेत सातामा दुई दिन बन्द हुन थाले । तर, पर्वतको एउटा यस्तो विद्यालय छ, जहाँ आइतबार मात्रै होइन, शनिबार बाहेक अन्य सार्वजनिक बिदा, बन्द/हडतालमा समेत पढाइ प्रभावित हुँदैन ।

विद्यार्थीको शैक्षिक गुणस्तर र शिक्षकको अध्यापनप्रतिको लगाब बढाउनका लागि विद्यालयमा सार्वजनिक बिदा र जस्तोसुकै बन्द/हडतालमा समेत निर्बाध विद्यालय सञ्चालन हुँदै आएको छ । नियमितजस्तै शिक्षक समयमै हाजिर हुन्छन् ।

जलजला–६ शालिजाको भोटेडाँडास्थित शान्ति आधारभूत विद्यालयमा हरेक दिन पढाइ हुन्छ । गत वर्ष लामो समय लकडाउन हुँदासमेत नियमित कक्षा सञ्चालन भयो । हरेक चाडपर्व वा स्थानीय पर्वमा संघ, प्रदेश र स्थानीय सरकारले दिने सार्वजनिक बिदामा समेत विद्यालय खुल्छ । दसैंमा समेत सप्तमीदेखि एकादशी र कोजाग्रत पूर्णिमामा मात्रै बिदा हुन्छ । शुक्रबार पनि अतिरिक्त क्रियाकलाप आयोजना गरेर साँझ ४ बजेसम्म नै पढाइ हुँदै आएको छ ।

विद्यालयमा सबैजसो स्थानीय शिक्षक छन् । एकजना मोदी गाउँपालिकाकी शिक्षिका छन् । उनलाई विद्यालयकै व्यवस्थापनमा आवासको व्यवस्थापन गरिएको छ । मोदी–७ राम्जाकी पुष्पा पौडेल विद्यालयको काम छोडेर हत्तपत्त घर जाँदिनन् । ‘यही काम भनेपछि घरको सबै काम बिर्सिनुपर्‍यो,’ पौडेल भन्छिन्, ‘बालबालिकासँग बसेपछि सबै बिर्सिंदोरहेछ । मलाई घरमाइती जे भने पनि यही विद्यालय छ ।’ बालबालिकालाई हरेक दिनजसो नयाँनयाँ क्रियाकलाप गराउन र रचनात्मक सीप सिकाउन पौडेल दिनरात सक्रिय हुन्छिन् । विद्यालयले दैनिक कुनै न कुनै नयाँ रचनात्मक गृहकार्य दिएर पठाउँछ । बालबालिकाको कलिलो उमेरमा कुलतको बाटोबाट जोगाउनका लागि यस्तो गरिएको प्रधानाध्यापक शिव सुवेदी बताउँछन् । ‘यसमा सबै अभिभावकले हामीलाई रचनात्मक सहयोग गर्नुभएको छ,’ सुवेदीले भने, ‘हामीले पढाइ हुन्छ भनेपछि अभिभावकले कुनै दिन पनि विद्यार्थी घरमा रोक्नुहुन्न ।’

शिक्षकको लगाब र मेहनतबाट प्रभावित भएर नै अभिभावकले विद्यालयका लागि पनि नियमित सहयोग गर्दैआएका छन् । अभिभावककै सहयोगबाट २ जना शिक्षक राखिएको छ । विद्यालयले ४ वर्षअघिदेखि नै अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको हो । त्यसअघि सबैजसो अभिभावकले स्थानीय निजी विद्यालयमा बालबालिका पठाउँथे । विद्यालयमा विद्यार्थी संख्या घट्न थालेपछि सुरु भएको अंग्रेजी माध्यमको पढाइ अहिले ‘ब्रान्ड’ बनेको छ । बिहान ९ बजे नै विद्यालय उपस्थित भएका शिक्षकहरू अतिरिक्त क्रियाकलाप र विद्यार्थीलाई नयाँ रचनात्मक गृहकार्यबारे छलफल गर्छन् । साँझ बिदा भएपछिको करिब दुई घण्टा विद्यालयकै उन्नतिबारे छलफल गरिने व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त सापकोटाले बताए ।

शिक्षकहरूको लगाबकै कारण यो विद्यालयको शैक्षिक विकासमा उल्लेख्य सफलता मिलेको अध्यक्ष सापकोटा बताउँछन् । ‘हाम्रा शिक्षकजत्तिको लगनशील र पेसाप्रति इमानदार कुनै सरकारी कर्मचारी भेट्टाएकै छैन,’ सापकोटाले भने, ‘उहाँहरू घामपानी, दिनरात नभनी खट्नुभएको छ ।’ ईसीडीदेखि कक्षा ८ सम्म पढाइ हुने भएर पनि विद्यालयमा शिक्षक दरबन्दीको भने अभाव छ । एक जना मात्रै स्थायी दरबन्दीका शिक्षक छन् । बाँकी ६ जना अस्थायी । त्यो सबै अभिभावकले चन्दा दिएको रकमबाटै व्यवस्थापन हुँदै आएको छ । जलजला गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षत्रीले पालिकामै अब्बलमध्येको यो विद्यालयको शैक्षिक विकास र शिक्षक दरबन्दीका लागि पालिकाले चासो दिएको बताउँछन् ।कान्तिपुर दैनिकले समाचार छापेको छ । 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’