स्थानीयलाई अनुदानमा अटो रिक्सा दिँदै फलेवास नगरपालिका

पर्वत /पर्वतको फलेवास नगरपालिकाले नगरवासीलाई आवागमन गर्न सहज होस् भनी अनुदानमा अटो रिक्सा वितरण गर्ने भएको छ।

नगरभित्रका बासिन्दालाई सहज, सरल, मितव्ययी, भरपर्दा, नियमित र गुणस्तरीय यातायातको पहुँच विस्तार गर्न सातवटा अटो रिक्सालाई लगानीको ३० प्रतिशत अनुदानमा उपलब्ध गराउने गरी यो कार्यक्रम सुरु गर्न लागिएको नगरप्रमुख पदमपाणि शर्माले बताए।

नगरपालिकाको फलेवासदेखि मुडिकुवासम्मको सडक कालोपत्रे भएको तथा ग्रामीण क्षेत्रका सडक पनि सहज अवस्थामा रहेका कारण अटो रिक्सा सञ्चालन गर्न लागिएको उनको भनाइ छ।

‘ग्रामीण क्षेत्रसहित मुडिकुवा र फलेवासमा हिँडडुल गर्नका लागि ट्याक्सीको उपलब्धता खासै छैन। सार्वजनिक सवारी पनि खासै नियमित नभएका कारण पनि नागरिकलाई सास्ती भयो। मान्छेले निजी सवारी किन्नैपर्ने बाध्यता देखियो’‚ उनले भने, ‘सम्पन्नसँग त अहिले पनि निजी सवारी छन्‚ निजी किन्न नसक्नेलाई साह्रै कठिन छ। सातवटा अटो रिक्सा हालियो भने विभिन्न भेगलाई समेटेर सञ्चालन गर्न सकिएला।’

फलेवास नगरपालिकाका विभिन्न वडाबाट सदरमुकाम कुश्मा दैनिकजसो जिप तथा बस छुट्ने गरे पनि एउटा वडाबाट अर्को वडामा जानुपर्ने अवस्थामा जिप रिजर्भ गर्नुपर्ने वा हिँडेर जानुपर्ने अवस्था छ।

स्थानीयले सर्वसुलभ दर तथा आफूले चाहेकै समयमा गन्तव्यमा पुर्याइदिने सवारी नभएका कारण पनि नगरपालिकाले अटो रिक्सा सञ्चालन गर्न लागेको हो।

अटो रिक्साका लागि बढीमा आठ लाखसम्मको लगानीका लागि अनुदान दिइने र त्यसका लागि झन्डै १७ लाख रुपैयाँ लगानी लाग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताए। अनुदान पाउन नगरपालिकाभित्रको स्थायी बासिन्दा हुनुपर्ने, विपन्न तथा बेरोजगार नागरिक भएको हुनुपर्ने, कम्तीमा पनि पाँच वर्षसम्म अटो रिक्सा सञ्चालन गर्नुपर्ने तथा बिक्री वितरण गर्न नपाइने लगायतका नियम राखिएको छ।

‘यो कार्यक्रमबाट एक त नगरवासीलाई सर्वसुलभ सुविधा हुने भयो। भनेका वेला सवारी उपलब्ध हुने भयो’‚ अधिकृत सापकोटा भन्छन्, ‘यसले बेरोजगारलाई रोजगारी दिने भयो। नगरका सडकमा बर्खा याममा अलि समस्या भए पनि हिउँदमा सरर सवारी चल्ने अवस्था छ।’

अटो रिक्साको अनुदान लिएको व्यक्तिले कम्तीमा पाँच वर्षसम्म सञ्चालन नगरेमा वा त्यो अवधिभन्दा अगाडि नै बेचेमा नगरपालिकाबाट दिइएको अनुदानमा १० प्रतिशत हर्जाना जोडेर अनुदान रकम फिर्ता दिनुपर्ने सर्त राखिएको छ।

पर्वत सदरमुकाम कुश्मा बजारमा एउटा मात्रै अटो रिक्सा सञ्चालनमा रहेको छ। सोही कारण त्यसको व्यवस्थापन, सञ्चालन, भाडादर कायम लगायतका विषय मिलाउन कार्यविधि निर्माणको काम भइरहेको अधिकृत सापकोटाले बताए।

इच्छुक तथा मापदण्ड पुगेका नागरिकले खरिद गर्ने ती रिक्सा चार सय १० सीसी, सातजनाको सिट क्षमता भएको तथा पेट्रोलबाट चल्ने इन्जिन भएको हुनुपर्ने भनिएको छ।थाहाखबरबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’