गण्डकीमा नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यून

कास्की /गण्डकीमा नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यूनपोखरा । गण्डकी प्रदेशमा नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गर्ने जनप्रतिनिधि न्यून देखिएका छन् ।

नेकपा एमाले औपचारिक रुपमा विभाजन भएपछि माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा सामेल हुन चाहने एमालेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले भदौ २२ गते अपराह्न ५ बजेसम्मको समय तोकेको थियो । सो अवधिभित्र गण्डकी प्रदेशका स्थानीय तहका एमाले जनप्रतिनिधिमध्ये न्यूनले मात्र नयाँ पार्टीका पक्षमा सनाखत गराएका हुन् ।

त्यसो त, गण्डकी प्रदेशसभामा एमालेका २७ सांसदमध्ये कसैले पनि नयाँ दलका पक्षमा सनाखत गराएनन् । गण्डकी प्रदेशका स्थानीय तहमा पनि नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिहरुलाई आकर्षित गर्न सकेन ।

कास्की

कास्कीका एमाले जनप्रतिनिधि पार्टी विभाजनको पक्षमा खासै देखिएनन् । कास्कीकै पोखरा महानगरपालिकामा एमालेबाट निर्वाचित एक जना पनि जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीका पक्षमा देखिएनन् ।

कास्कीबाट जम्मा चारजना वडा सदस्यले मात्र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् । मादी गाउँपालिका–११ का वडा सदस्य नरबहादुर लामा, माछापुच्छ्रे गाउँपालिका–८ का सदस्य लालबहादुर परियार, माछापुच्छ«े–७ का सदस्य बाबुराम भण्डारी र रुपा–५ का सदस्य दामोदर भण्डारीले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

नेकपा एकीकृत समाजवादीमा कास्कीबाट चारजना केन्द्रीय सदस्य छन् । तर एमालेको ९२ सदस्यीय जिल्ला कमिटीमा ६ जनामात्रै नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भए ।

कास्कीमा एक महानगरसहित ५ स्थानीय तहमा ७२ वटा वडा छन् । महानगरको प्रमुख, उपप्रमुखसहित तीनवटा गाउँपालिका अध्यक्ष र चारवटै गाउँपालिका उपाध्यक्ष एमालेले जितेको थियो ।

स्याङ्जा

स्याङ्जाका ७ जनप्रतिनिधिले नेकपा समाजवादी रोजेका छन् । आँधीखोला गाउँपालिकाकी उपाध्यक्षसहित एमालेका ७ जना जनप्रतिनिधिले समाजवादी पार्टी रोजेका हुन् । आँधीखोला गाउँपालिका–२ का वडाध्यक्ष रामचन्द्र पौडेल, कार्यपालिका सदस्य खड्कबहादुर नेपाली, विन्दु विक, पुतलीबजार नगरपालिका–४ का वडा सदस्यद्वय गुमानसिंह थापा र डोलराज गौतम, हरिनास–७ का वडा सदस्य ऋषिराम लम्साल एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।

तनहुँ

तनहुँमा नेकपा एमालेबाट निर्वाचित १३ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । शुक्लागन्डकी नगरपालिकाका १० सहित १३ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजबादी रोजेका हुन् । शुक्लागन्डकी नगरपालिकाका १२ वडामध्ये स्थानीय निर्वाचनमा नेकपा एमालेले उपमेयर सहित ७ वटा वडा अध्यक्षमा जित हासिल गरेको थियो ।

शुक्लागन्डकी नगरपालिका–३ का वडा अध्यक्ष रामकुमार श्रेष्ठ, ५ का वडा अध्यक्ष दिर्घबहादुर थापा, ७ का वडा अध्यक्ष रामबहादुर क्षेत्री र ११ का वडा अध्यक्ष दलबहादुर थापाले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् ।

त्यस्तै, व्यास नगरपालिका–४ का वडा अध्यक्ष विश्व न्यौपानेले पनि नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

कार्यपालिका सदस्यहरु सानुमाया महत, रिता भुजेल, वडा नम्बर ५ का सदस्य थपबहादुर आले, ९ का सदस्य डिलबहादुर आले, ११ का सदस्य थमन आले र वडा नम्बर ११ का सदस्य डोलमाया विकले पनि नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

त्यस्तै, व्यास–४ का वडा सदस्य मनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका–६ का वडा सदस्य सञ्जय गुरुङले पनि नेकपा एकीकृत समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

गोरखा

गोरखामा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित तीन जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । आरुघाट गाउँपालिका–५ का अध्यक्ष नारायणध्वज खड्का, ३ का अध्यक्ष शिरबल बराम र गोरखा नगरपालिका वडा नम्बर ८ की सदस्य कल्पना नेपालीले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

गोरखामा स्थानीय तहको निर्वाचनमा एमालेबाट १४ वडाध्यक्ष र ४८ सदस्य गरी कुल ६२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।

बागलुङ

बागलुङमा नेकपा एकीकृत समाजवादीमा ७ जनाले सनाखत गरेका छन् । सनाखत गर्नेमा ३ जना वडाध्यक्ष, ३ जना कार्यपालिका सदस्य र एक जना वडा सदस्य छन् ।

बागलुङ नगरपालिका–२ का वडा अध्यक्ष जीवन आचार्य, काठेखोला गाउँपालिका–३ का वडा अध्यक्ष यामबहादुर श्रीष र ढोरपाटन नगरपालिका–९ का वडा अध्यक्ष हरि घर्तीले नयाँ पार्टीका पक्षमा सनाखत गरेको निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

त्यस्तै बागलुङ नगरपालिकाकी कार्यपालिका सदस्य सीता थापा, जैमिनी नगरपालिका कार्यपालिका सदस्य बलबहादुर नेपाली र ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य यामु बिकले समेत नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । बागलुङ नगरपालिका–२ का वडा सदस्य सुरज बसेलले पनि नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

म्याग्दी

म्याग्दी जिल्लामा ३ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । एमाले छाडेर समाजवादी रोज्नेमा बेनी नगर कार्यपालिकाका सदस्य कृष्ण कुमार विश्वकर्मा, बेनी नगरपालिका–४ का वडा सदस्य दुर्गा कार्की बानियाँ र धवलागिरी गाउँपालिकाका वडा सदस्य देउप्रसाद छन्त्याल छन् ।

मुस्ताङ

हिमालपारीको जिल्ला मुस्ताङमा एक जना जनप्रतिनिधिले मात्रै नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका छन् । मुस्ताङमा जिल्ला समन्वय समितिकी सदस्य दुर्गा देवी रसाईलीले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन् ।

पर्वत

पर्वतमा २ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । आरथरका वडाअध्यक्ष भिम गुरुङ र फलेवास नगरपालिकाको मुडिकुवाका वडा सदस्य बाल चन्द्र नेपालीले नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गरेका हुन् ।

लमजुङ

लमजुङमा कुनै पनि जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीलाई साथ दिएनन् । सुरुमा २ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीका पक्षमा खुले पनि उनीहरु एमालेमै फर्किए ।

गण्डकीका अन्य दुई जिल्ला मनाङ र नवलपुरको विवरण भने प्राप्त भएको छैन ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’