नेपालमा कोरोना संक्रमण -सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने बढे

गण्डकीमा २३५ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

काठमाडौँ/ कोरोना भाइरस सङ्क्रमितभन्दा आज सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढेको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई हजार ५२ जना सङ्क्रमित भएका छन भने तीन हजार ३० जना सङ्क्रमणमुक्त भएका छन् ।

चौध हजार ९३५ जनामा परीक्षण गर्दा दुई हजार ५२ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमित ३४ हजार १८९ जना रहेका छन् ।

अहिलेसम्म सात लाख १९ हजार ३३६ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । यस्तै सङ्क्रमणमुक्त हुनेको दर पनि बढेको छ । आज नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.१ प्रतिशत पुगेको छ । यसभन्दाअघि ९३.९ प्रतिशत सङ्क्रमणमुक्त भएका थिए ।

यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७७० जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ ।

हाल ५६३ जना सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ जना होमआइसोलेसन, दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३११ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ ।

गण्डकीमा २३५ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९९७ जनामा गरिएको नमूना परीक्षणमा २३५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १२३ महिला र १२२ जना पुरुष रहेका छन् ।

प्रदेशका ६ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की १४७, बागलुङ २, स्याङ्जा २८, म्याग्दी २, पर्वत २, लमजुङ १६, तनहुँमा ५ र नवलपरासी पूर्वमा १६ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८१ हजार ८१० पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१८ का ७५ वर्षीय पुरुष, पोखरा–१९ की ५५ वर्षीय महिला, बागलुङ काठेखोला–८ की ८३ वर्षीय महिला, स्याङजा गल्याङ–३ की ८५ वर्षीय महिला र तनहुँ ब्यास–४ का ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०० पुगेको छ ।

गण्डकी प्रदेशमा हालसम्म ७७ हजार ३१० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकैदिन संक्रमणमुक्त हुनेको संख्या २८८ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २०० रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’