पर्वतको देउपुरबासीको पिडा -पहिरोको डरले रातभर जाग्राम, १६ घर उच्च जोखिममा, स्थानीयस्तरमा बस्ती सार्न समस्या

पर्वत /मोदी गाउँपालिका–२ देउपुरका विभिन्न बस्तीका करिब ३ दर्जन परिवार पहिराको उच्च जोखिममा छन् । केही वर्षयता स्थानीय केरुंगा सामुदायिक वनमा निरन्तर पहिरो खसेर कतिपय परिवार विस्थापित भइसक्दासमेत बस्ती सार्न नियामक निकायले तदारुकता देखाएका छैनन् ।

करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमिनले ठाउँ छोडेको वर्षौं भइसक्यो । जसका कारण वन क्षेत्रभन्दा तलका घर तथा कृषि फर्म पुरिने खतरामा छन् । वनमाथिका केही घर पहिरोसँगै खस्ने जोखिममा छन् । पातीचौरका शिक्षक वसन्तविक्रम तिमिल्सिनाका अनुसार पहिरो थोरैथोरै गरेर खस्दै गएको छ । स्थानीय सुनचापका १४ घर पुरिने खतरामा छन् । पहिरो खसेकै स्थानमा पर्ने सालघारीका २ र डिहींका २ गरी १६ घर सबैभन्दा बढी जोखिममा छन् । त्यसबाहेक कानदेउरालीका २, दोबाटाका ३ र डढुवाबारीदेखि बढहरेसम्मका १० घर गरी १५ परिवार पहिरोको उच्च जोखिममा परेका छन् । स्थानीयका अनुसार पहिरो प्रभावित क्षेत्रका ३१ घर बग्ने र १४ घर पुरिने जोखिममा छन् ।
‘पहिरोको समस्या धेरै पहिलादेखिको हो,’ स्थानीय अन्तरे कामीले भने, ‘धेरै पटक स्थानीय निकाय हुँदै सबै क्षेत्रमा जानकारी नभएको होइन । जानकारी पाएर पनि कसैले वास्ता गरेका छैनन् ।’ केही मात्रामा गएको पहिरो र माथिबाटै लच्किएर आएको जमिनको तलपट्टिका घर जोखिममा रहेको उनले बताए । पहिरोभन्दा तल पातिचौर क्षेत्रमा लाखौंको लगानीका कृषि फर्मसमेत पुरिने खतरामा रहेको शिक्षक तिमिल्सिनाले बताए । ‘वनबाट सुरु भएको पहिराले १० मिटरभन्दा बढी ठाउँ छोडिसकेको छ,’ उनले भने, ‘यो बर्खा कुनबेला लत्याकलुतुक्कै माथिको भाग खस्ने हो । चिन्ता छ ।’ वनक्षेत्रको करिब १५ हेक्टर क्षेत्रफलको भाग पुरै बगेर आउने जोखिममा रहेको उनले बताए ।

पहिरो आउन सक्ने तल्लो क्षेत्रमा लाखौंको लगानीका कृषि फर्म छन् । पहिरो खस्दा फर्म पुरिएर पूर्ण क्षति हुने अवस्थामा छन् । स्थानीय सबिना सुब्बाले ३० लाख रुपैयाँको लगानीमा बंगुर, कुखुरा र माछा फर्म सञ्चालन गरेको बताइन् । तेजबहादुर क्षेत्रीले ७ लाख रुपैयाँ र मोदीकै क्याङका युवाले करिब १० लाख रुपैयाँको लगानीमा कृषि फर्म सञ्चालनमा ल्याएका छन् । पहिरोमुनि सुनचापका अन्तरे कामीले बर्खा सुरु भएपछि राति निदाउन नपाएको बताए । उनले भने, ‘बर्खा लागेयता रातभर झिमिक्क गरेकै छैन । नजिकमा आफन्त हुनेहरू उतै गएर सुत्छन् । हाम्रो कोही छैन । रातभर ‘हरिहरि’ भन्दै बस्ने हो ।’ दशकअघि केरुंगा सामुदायिक वन हुँदै खनेको देउपुर–पातीचौर–लप्सीबोट सडकपछि हरेक वर्ष पहिरो खस्न थालेको स्थानीयले बताएका छन् । सडक खन्ने बेलामा भूगर्भविद्सहितको प्राविधिक टोलीले अध्ययन गरेको थियो । तर, व्यवस्थित नहुँदा एकत्रित भएर आउने भलका कारण वनबाट ठूलो क्षेत्रफलको जमिन लच्किएको स्थानीयको राय छ ।

पहिरोबारे स्थानीय सरकार पनि जानकार नभएको होइन । गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले पहिरोको जोखिममा रहेका बस्ती सार्नुको विकल्प नभए पनि स्थानीयस्तरबाट त्यो सम्भव नभएको बताए । ‘त्यहाँको बस्ती स्थानान्तरण गर्नुपर्छ । उपयुक्त ठाउँ खोजेर सार्न माथिल्लो निकायमा जानकारी गराएकै छौं । अहिलेसम्म काम नहुनु दुःखद् हो ।’ प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले यो वर्ष पनि त्यहाँका केही परिवार विस्थापित भइरहेको बताए । उनका अनुसार जिल्ला विपत् व्यवस्थापनले जोखिमका घर सार्न सिफारिस गरेको छ ।कान्तिपुरबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’