भारतले के गल्ती गर्दा अहिलेको भयावह स्थिति आयो?


अप्रिल २२ मा नयाँ दिल्लीमा कोरोनाबाट मृत्यु भएकाहरुलाई जलाइएका चिता (रोयटर्स)

सौम्य भट्टाचार्य
नयाँ दिल्ली /
२१ अप्रिलका दिन भारतमा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित फेला परे। यो संख्या महामारी सुरु भइसकेपछि कुनै पनि मुलुकमा एकै दिन फेला परेकोमध्ये सबैभन्दा उच्च थियो। यही दरले बढ्ने हो भने अप्रिलको अन्त्यसम्ममा संक्रमितको संख्या दैनिक ५ लाख नाघ्ने देखिन्छ।
नयाँ दिल्लीमा नयाँ वर्षको दिन चहकिलो र चिसो बिहानी उदाएको थियो। तापक्रम १ डिग्री सेल्सियस थियो। घाम लागेको थियो, आकाश सफा थियो। भारतको राजधानीमा २०२१ को पहिलो दिन सुखद् थियो।

२०२० को अन्तिम महिनाबाट कोभिड–१९ संक्रमितहरुको संख्या घट्न थालेको थियो। खोप नजिकै आइपुगेको थियो। अर्थतन्त्र पुनः लयमा आउने लक्षण देखिन थालेका थिए। देशभरका जनताले विश्वास गर्न थालेका थिए– अघिल्लो वर्षको दुस्वप्न समाप्त भएकै हो। १६ जनवरीका दिन भारतले खोप अभियान सुरु गर्‍यो।

ncell
वर्षको पहिलो दुई महिनामा दैनिक संक्रमित संख्या निरन्तर ओरालो लागिरह्यो। फेब्रुअरी १५ का दिन भारतमा मात्र ९ हजार १२१ नयाँ संक्रमित फेला परेका थिए। मानिसहरुमा विजय र उल्लासको भावना थियो।

विश्वका लगभग सबै मुलुकले कोभिड–१९ को दोस्रो लहरको मार खेपिसकेका थिए। भारत भने अपवाद भएको हामीलाई बताइयो। सरकारले गठन गरेको एउटा टोलीले फेब्रुअरीको अन्त्यसम्ममा भाइरस नियन्त्रणमा आउने दाबी गरिसकेको थियो। मार्चमा भारतका स्वास्थ्यमन्त्रीले मुलुक महामारीको अन्तिम चरणमा प्रवेश गरेको घोषणा गरे। धेरैले उनको भनाइलाई विश्वास गरे।

के यो साँचो थियो त? जब मार्चमा विस्तारै संक्रमितको संख्या बढ्न थाल्यो, त्यसलाई चेतावनीको पहिलो घण्टी मानिनुपर्थ्यो। तर, कसैले वास्ता गरेन। मार्च १० का दिन २० हजार नयाँ संक्रमित थपिए। त्यो संख्या मार्च २४ मा ५० हजार पुग्यो।

त्यसपछि अप्रिल अर्थात्, सबैभन्दा क्रुर महिना आइपुग्यो। यो महिनामा भाइरसले भारतलाई यसरी बढार्‍योः

४ अप्रिलः दैनिक संक्रमितको संख्या एक लाख नाघ्यो।
१४ अप्रिलः दैनिक संक्रमितको संख्या दुई लाख नाघ्यो।
२१ अप्रिलः दैनिक संक्रमितको संख्या तीन लाख नाघ्यो।

२१ अप्रिलका दिन भारतमा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित फेला परे। यो संख्या महामारी सुरु भइसकेपछि कुनै पनि मुलुकमा एकै दिन फेला परेकोमध्ये सबैभन्दा उच्च थियो। यसअघि जनवरीमा अमेरिकामा एकै दिन २ लाख ९७ हजार संक्रमित फेला परेका थिए। भारतमा अमेरिकाभन्दा निकै कम समयमा संक्रमितको संख्या २ लाख बाट ३ लाख पुग्यो। २१ अप्रिलमा २ हजार १ सय २ जनाको ज्यान गएको थियो।

त्यसयता यो संख्या निरन्तर उकालो चढिरहेको छ। यही दरले बढ्ने हो भने अप्रिलको अन्त्यसम्ममा संक्रमितको संख्या दैनिक ५ लाख नाघ्ने देखिन्छ।

हालसम्म यो भाइरसका कारण १ लाख ८६ हजारको ज्यान गएको छ। तर, यो सम्पूर्ण संख्या होइन। भारतको विशाल ग्रामीण क्षेत्रमा चरम गरिबी, स्रोतसाधनको अभाव छ। तसर्थ वास्तविक संख्या योभन्दा बढी हुनसक्छ।

भारतले के गल्ती गर्‍यो त?

यसको जवाफ हुन्छः थुप्रै।

संक्रमितको संख्या घट्न थाल्यो, खोप आउने निश्चित भयो। अनि लकडाउनबाट दिक्क भएका मानिसहरु सावर्जनिक स्थानहरुमा ठूलो भीडभाड गर्न थाले। सामाजिक दुरीलाई बेवास्ता गरियो। मास्क घरमै छुटे। खचाखच पाहुनासहित ठुल्ठूला विवाह समारोह अनि जमघट फेरि हुन थाले।

त्यहीबेला सबैभन्दा पहिले महाराष्ट्रमा फेला परेको भाइरसको डबल म्युटेन्ट भेरिएन्ट देशभर डढेलोझैँ सल्कियो। वैज्ञानिकहरुले यो यूके भेरिएन्टजस्तै अरुभन्दा बढी घातक छ कि छैन भनेर निर्क्यौल गर्न बाँकी नै छ। तर, यो बढी सरुवा रहेको विश्वास गरिएको छ।

जनवरीबाट हरिद्वारमा गंगा नदीको किनारमा विश्वकै ठूलोमध्येको एक कुम्भ मेला सुरु भयो। त्यसयता अढाई करोडभन्दा धेरै मानिसले सो मेलामा भाग लिएका छन्। ती तीर्थालुको व्यवहार चाहिँ महामारी छँदैछैन भनेजस्तो थियो। अन्य चाडपर्व र भेलाहरु पनि बिनाकुनै रोकटोक चलिरहे।

मार्चदेखि अप्रिलसम्म पाँच राज्यमा चुनाव आयोजना गरियो। राजनीतिकर्मीहरुले उत्तिकै जोडतोडका साथ चुनावी अभियान चलाए। दशौँ हजार समर्थकहरुको उपस्थितिमा र्‍याली आयोजना गरियो। नेताहरुले न मास्क लगाए, न सामाजिक दुरी कायम गरे।

महामारीको दोस्रो लहर यति भयानक होला भन्ने सरकारले सोच्दै सोचेन। त्यसैले खोप अभियान पनि ठिकसँगले सञ्चालन गर्न सकेन। अत्यन्त धीमा गतिमा खोप लगाइयो, जसले जनसंख्याको आवश्यक हिस्सालाई समेट्न सकेन। निजी क्षेत्रलाई सरकारले खोप अभियानबाट बाहिर राख्यो।

हालसम्म मात्र ८ प्रतिशत भारतीयले खोपको पहिलो मात्रा लगाएका छन्। दुवै मात्रा लगाउने त मात्र १.३ प्रतिशत छन्। अमेरिकाले आफ्नो जनसंख्याको २६ प्रतिशतलाई पूर्ण खोप लगाइसकेको छ भने बेलायतले १६ प्रतिशतलाई।

परिस्थिति अत्यन्त प्रतिकूल भए कति खोप चाहिएला भन्ने हिसाब पनि सरकारले गडबड गर्‍यो। परिणाम अहिले सरकार आवश्यक खोप जुटाउन निकै ठूलो जोडबल लगाइरहेको छ। त्यसमाथि महामारी नियन्त्रणमा रहेका महिनाहरुलाई स्वास्थ्य पूर्वाधार बलियो बनाउन पनि सरकार चुक्यो।

त्यसले आज स्वास्थ्य प्रणालीले धान्न सकिरहेको छैन। अस्पतालमा बेड छैन, अक्सिजन सिलिन्डर छैन, औषधि छैन, न अन्य सुविधा नै छ। भारत भिरको डिलमा छ।

अबको बाटो के हो त? सरकारले अमेरिका, बेलायत, युरोपेली संघ र जापानका नियामक निकायले अनुमति दिएका खोप आयात गर्न दिने भएको छ। त्यसले विकल्पहरु प्रदान गर्ने छ। तर, ती खोप सहज उपलब्ध हुन अझै महिनौँ लाग्नेछ। रुसको स्पुतनिक खोपलाई पनि प्रयोग अनुमति दिइएको छ।

यतिबेला भारतीयहरुको पहुँचमा दुई वटा खोप छ– स्वदेशमै विकसित कोभ्याक्सिन र एस्ट्राजेनेकाद्वारा विकसित तथा सेरम इन्स्टिच्युटद्वारा उत्पादित कोभिसिल्ड।

युनिभर्सिटी अफ मिसिगनका जैविक–तथ्यांकशास्त्री भ्रमर मुखर्जीले बीबीसीलाई बताएअनुसार भारतले दैनिक एक करोड खोप लगाउनुपर्ने थियो। तर, भारतले दैनिक ३० लाख डोज मात्रै लगाइरहेको छ। खोपको उपलब्धता र उत्पादन क्षमतालाई हेर्दा त्यो लक्ष्य प्राप्त गर्न निकै मुस्किल छ र त्यसका लागि महिनौँ लाग्न सक्छ।

यो भयानक संकटको एक मात्र समाधान भनेको जनसंख्याको ठूलो हिस्सालाई खोप लगाउनु नै हो। तर, भारतजस्तो विशाल, विविध र घना आबादी भएको मुलुकका लागि यो काम सिसिफसलाई ढुंगा शिखरमा अड्याउनुजस्तै असम्भवप्रायः देखिन्छ।

(‘न्यु स्टेट्सम्यानबाट। सौम्य भट्टाचार्य आख्यान र गैरआख्यान गरी ६ पुस्तकका लेखक हुन्)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग