बाँदर आतंकले जग्गा बाँझै

पर्वत /फाँटैभरि गहुँ र तोरीले लटरम्म हुने फलेबास–३ को पहिरेफाँट यतिबेला बाँझै छ । कारण हो, बाँदर आतंक । केही वर्षअघिसम्म हिउँदे बाली लहलह झुल्ने फाँटैभरि यतिबेला किसानले लगाउन चाहेर पनि बाँदरबाट जोगाउन नसकेकै कारण बाँझो छाड्न बाध्य भएका हुन् ।

बाँदरकै कारण हिउँदे खेती लगाउन छोड्नेमा कुस्मा, महाशिला, पैयुँ, बिहादीलगायत स्थानका किसान छन् । हिउँदमा लगाइने तोरीबाहेकका सबैजसो बाली फल लाग्ने समयमा बाँदरले सखाप पार्न थालेपछि उनीहरूले खेती गर्नै छाडेका हुन् । केही किसानले बाँदरबाट जोगाउन सकिने आशामा खेती लगाए पनि फसल भित्र्याउने बेला बाँदरले सखाप पारेपछि निराश छन् ।

पहेंलिएका गहुँ बाँदरले सोत्तर पारिदिएपछि कुस्मा–१० पीपलटारीकी शारदा अधिकारीले गतसाता नलमा आगो लगाएर मकै रोपिन् । ‘गहुँ खान नपाए पनि मकै पाइन्छ कि भनेर नलमा आगो लगाएर मकै छरें,’ उनले भनिन्, ‘मकै जोगाउन सके खान पाउने हो । नसके डाँठ गाईबस्तुलाई खुवाउन त पाइएला ।’ पछिल्लो पाँच वर्षयता जिल्लाभर बाँदर आतंक बढ्दो छ । कतिपय गाउँमा बाँदर घरभित्रै पसेर पकाएको खानासमेत लिएर भाग्ने गुनासो स्थानीयको छ । बाँदरकै कारण हिउँदे खेतीबाटै जीविकोपार्जन गर्नेले समेत खेती लगाउन छाडेका छन् । ‘आलु बेचेरै वर्षभरिको घरखर्च टारिन्थ्यो,’ कुस्मा–९ की अमृता पराजुलीले भनिन्, ‘चार/पाँच वर्ष भयो । उम्रिन नपाउँदै बाँदरले सखाप पार्न थाल्यो । अहिले खाने आलु पनि बजारबाट किनेर ल्याउनुपर्छ ।’

बाँदर आतंक बढेपछि नियन्त्रण गर्न भन्दै महाशिला र पैयुँ गाउँपालिकाले नियन्त्रण अभियान सञ्चालन गरेका थिए । तर सफल हुन नसकेपछि दुवै पालिकाले हात झिकेका छन् । नियन्त्रणमा लिइएका बाँदर चितवन राष्ट्रिय निकुञ्जमा पठाउने क्रममा मरेपछि अभियान विवादित बनेको थियो । ‘वन्यजन्तु अधिकारकर्मीले विरोध गरे भन्ने कुरा आयो,’ पैयुँका अध्यक्ष खगेन्द्र तिवारीले भने, ‘नियन्त्रणमा लिएर निकुञ्ज पठाउने कुरा भरपर्दो नहुने ठानेर यत्तिकै रोकियो ।’

महाशिलाका प्रवक्ता जीवनविक्रम उचै ठकुरीका अनुसार अघिल्ला २ वर्षमा ३ सय २३ बाँदर नियन्त्रणमा लिएर निकुञ्जमा पठाइएको छ । ‘केही गरौं भनेर लागेकै हो,’ उनले भने, ‘हामीले मात्रै गरेर सम्भव नहुने देखियो । यसमा सबै पालिकाले उत्तिकै जिम्मेवारी लिनुपर्छ ।’ पालिकाले नियन्त्रण सुरु गरेका दुई वर्षमा महाशिलामा बाँदर आतंक निकै घटेको उनको दाबी छ । अभियान सुरु गर्नुअघि पालिकाभरि करिब चार सयको हाराहारीमा बाँदर रहेकामा नियन्त्रणमा लिएपछि सयको संख्यामा थिए । अरू पालिकाले नियन्त्रणमा चासो नदिएपछि विस्तारै बढ्दै गएको महाशिलाले जनाएको छ ।कान्तिपुर दैनिकबाट

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग