एकतावद्ध एमालेका पक्षमा

औपचारिक र कानुनी रुपमा फुटको सम्भावना नरहे पनि नेकपा (एमाले) एकीकृत नै भएर जान्छ कि जाँदैन भन्ने जिज्ञासा सर्वत्र छ। गत फागुन २३ को सर्वोच्च अदालतको फैसलासँगै एमाले एक भएर जानुपर्नेमा त्यसपछि द्रूत गतिमा विकास भएका राजनीतिक घटनाक्रमहरुले एमालेका सबै नेता–कार्यकर्ता एकै ठाउँमा बसेर अघि बढ्न सक्छन् त भन्ने संशय बढाइदिएको छ। नवौँ महाधिवेशनदेखि नै अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा तलैसम्म ध्रुवीकृत हुँदै आइरहेको कार्यकर्ता पंक्ति पछिल्ला घटनाक्रमहरुबाट थप आक्रामक बनेको छ र माओवादीसँग एकताको दुःखान्तपछि कम्तीमा आफ्नो पार्टी एक भएर अघि बढोस् भन्ने चाहना राखिरहेकोमा यसबीचमा देखा परेका क्रिया र प्रतिक्रियाहरुले निराशा थपिरहेको छ।

कानुनीसँगै राजनीतिक रुपमा एमाले विभाजन हुने आधार छैन। अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापनसँग असहमत नेताहरुले पनि पार्टीको नीति, कार्यक्रम र सिद्धान्तका बारेमा कुनै फरक कुरा गरिरहनुभएको छैन। माक्र्सवाद–लेनिनवाद र जननेता मदन भण्डारीद्वरा प्रतिपादित जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रुपमा अंगीकार गर्दै त्यस अनुरुप अघि बढ्नुपर्नेमा कुनै विवाद छैन। यति कुरामा सहमत भइसकेपछि सैद्धान्तिक–राजनीतिक रुपमा विभाजनको औचित्य स्थापित गर्न सम्भव हुँदैन। राजनीतिक–वैचारिक आधारबिना कुनै दल, त्यसमा पनि नयाँ कम्युनिस्ट पार्टी बन्दैन र बने पनि टिक्दैन भन्ने स्वतःसिद्ध छ।

साढे दुई दशकअघि नेकपा (एमाले) विभाजन हुँदा र अहिलेको अवस्थामा आकाश–पाताल फरक छ। त्यसबेला सही वा गलत जे भए पनि आम मानिससलाई भ्रम पार्न सक्ने राष्ट्रवादको एजेन्डा अघि सारिएको थियो। यस पटक चाहिँ हाम्रो पार्टीभित्रको आन्तरिक विषय भएकाले जनतालाई छोइहाल्ने आम चासोका विषयहरु छैनन्। पार्टीभित्र यस्तो हुनु हुँदैनथ्यो र नेताहरु मिलेर जानुपथ्र्यो भन्ने विषय आफैँमा सद्भावपूर्ण भए पनि त्यसले आम जनतासँग सीधै सरोकार राख्दैन। सांगठनिक रुपमा त्यसबेलाको विभाजन चानचुने थिएन। ८८ जना निर्वाचित सांसदमध्ये ४० जनाका साथै युवा, विद्यार्थी, महिला जस्ता प्रभावशाली संगठनको नेतृत्व नेकपा (माले) का पक्षमा उभिएको थियो। एमालेका कैयौँ जिल्ला कमिटीहरुले बैठक बसेरै आफूलाई मालेमा रुपान्तरण गर्ने निर्णय गरेका थिए। प्रभावशाली नेताहरुको पंक्तिले माले गठन गर्दा त्यसका स्वाभाविक तरंगहरु उत्पन्न भए पनि ०५६ को निर्वाचनमा त्यसले एक सिट पनि हासिल गर्न नसक्दा ०५८ मा एमालेमै समाहित हुनुपरेको इतिहास एमाले पंक्तिको स्मरणबाट हटेको छैन। एउटै सिद्धान्त, उस्तै परिचय झल्काउने नाम, पुरानै नेतृत्व र एउटै रंगमा नयाँ पार्टी बनाउँदा बढीमा मानिसहरुले त्यसलाई ‘भाइ एमाले’ भनेर सम्म चिन्दछन्, जुन अलग पहिचान हुँदैन। अब कुनै नयाँ दल बनेछ भने गठनको चार बर्षमै नेकपा (माले) ले भोगेको नियतिबाट मुक्त हुन सम्भव छैन।

नेपालको सात दशक लामो दलीय अभ्यासलाई फर्केर हेर्दा विभिन्न कालखण्डमा विभिन्न पार्टीहरु विभाजन भएको पाइन्छ। विभाजनका कारणहरुमा विविधता भए पनि ती सबै विभाजनहरुको सार चाहिँ एउटै छः विभाजित भएर बनेको पार्टी चल्दैन। नेपाली कांग्रेसको इतिहासलाई केलाउँदा २००७ सालको क्रान्तिका कमान्डर मातृकाप्रसाद कोइराला, तराईमा कांग्रेसका खम्बा मानिने भद्रकाली मिश्र र बेदानन्द झादेखि राष्ट्रिय कांग्रेसका संस्थापक डिल्लीरमण रेग्मी हुँदै शेरबहादुर देउवा र विजयकुमार गच्छदारसम्म आइपुग्दा विभाजित भएर बनेका पार्टीहरु या कतै विलाएका छन् या त तिनका नेता–कार्यकर्ता मूल पार्टीमै फर्किएका छन्। कम्युनिस्ट पार्टीमा पनि प्रत्येक विभाजनका कारण बनेका पार्टीहरुको हालत करिब यस्तै छ। माओवादीबाट छुट्टिएर अलग पार्टी बनाएका ‘क्रान्तिकारी’ मोहन बैद्य र ‘अझ क्रान्तिकारी’ नेत्रविक्रम चन्ददेखि ‘जनयुद्ध’ को सार्वजनिक अनुहार बनेका ‘अन्तर्राष्ट्रिय व्यक्तित्व’ बाबुराम भट्टराईसम्मको हालत हामी सबैले देखेकै छौँ। मूल पार्टीबाट आफूलाई फरक देखाउनका लागि चर्का कुरा गर्नुपर्ने बाध्यता रहे पनि त्यसको औचित्य पुष्टि गर्न नसक्दा विभाजन स्वयंमा आत्मघाती सावित भएको उदाहरण ०५४ को एमाले विभाजन र त्यसयता वामदेव गौतमले भोगिरहनुभएको नियतिबाट बुझ्न सकिन्छ।

आज नेकपा (एमाले) विभाजन भएर नयाँ पार्टी बनेछ भने के हुन्छ भन्नेबारेमा दुईथरी धारणा पाइन्छन्ः पहिलो, आगामी निर्वाचनमा आफूले पराजय भोग्दै एमालेलाई पनि पराजित गरेपछि ०५८ सालमा झैँ नयाँ शक्ति सन्तुलनका आधारमा एमालेसँगै एकता हुन्छ र पुनः साविककै अवस्थामा फर्किन सकिन्छ। दोस्रो, विभाजनपछि आगामी निर्वाचनमा माओवादीसँग कार्यगत एकता हुन्छ र चुनावपछि ऊसँगै एकता गरेर ठूलो पार्टी बनाउन सकिन्छ। यी दुवै धारणाबाट के बुझ्न सकिन्छ भने एमाले विभाजन गरेर नयाँ पार्टी बनाएर टिकाउन सकिन्न। एक चरणको असफलतापछि फेरि एमाले नै हुनुपर्ने वा एकता असफल भएको माओवादीसँग फेरि एकता गर्ने कुरा लोकतान्त्रिक र क्रान्तिकारी धारका साथ नेपाली कम्युनष्टि आन्दोलनलाई अघि बढाउने सन्दर्भमा गलत सावित हुनेछन्।

विभिन्न कारणले असन्तुष्ट भएका र असहज महसुस गरिरहेका नेता–कार्यकर्ताहरुको एउटा पंक्ति नयाँ पार्टी बनाउने मानसिकतामा पुग्न खोजेको देखिन्छ। तर, त्यसले जनतामा कस्तो असर पार्दछ भन्नेबारेमा हाम्रो निकट विगत नै साक्षी छ। साह्रै कमजोर भएका कारण भद्र प्रतिपक्षका रुपमा खुम्चिन बाध्य नेपाली कांग्रेस सत्तामा हुँदा सत्ताको दुरुपयोगदेखि झुटा मुद्दाका अनेक श्रृंखलाहरु झेलेको पंक्तिले अन्तिम निर्णय लिनुअघि आफ्नो धरातलमा उभिएर त्यसपछिका असरहरुका बारेमा अवश्य पनि सोच्नु पर्दछ। फेरि स्थानीय तहदेखि केन्द्रीय तहसम्म एमालेको मुख्य नेतृत्व पंक्ति जननिर्वाचित भएकाले वैधानिक रुपमा पनि नेतृत्वदायी पंक्ति सबै त्यागेर नयाँ पार्टीमा लाग्न सम्भव छैन।

नेताहरुमाथिको कारवाही प्रकरण एमालेको जीवनमा एउटा विडम्बनाका रुपमा देखा परेको छ। तर, कतिपय यस्ता प्रकरणहरु समयक्रममा सम्बन्धित व्यक्तिहरुले नै सम्झिन नचाहने दुखद् अध्यायका रुपमा वेवारिशे हुने गरेका छन्। धेरै टाढा जानै पर्दैन, अध्यक्ष केपी ओलीका विरुद्धमा चार महिनाअघि पार्टीको सचिवालयको बैठकमा प्रस्तुत गरेको १९ पाने अराजनीतिक र फौजदारी अभियोग सहितको आरोपपत्र र तीन महिनाअघि उहाँलाई पार्टी अध्यक्ष, संसदीय दलको नेता र पार्टीको सदस्यबाट निष्काशन गरेको प्रकरण त्यसको अगुवाइ गर्ने नेताहरु नै अहिले सम्झिन र त्यसको पक्षमा सार्वजनिक रुपमा बोल्न सक्ने अवस्थामा हुनुहुन्न। बदलाको भावना र ‘रिस उठेको बेला कसैले गीता पढ्दैन’ भन्ने उखान हामी कम्युनिस्टहरुमा चाहिँ पछि आफैंलाई लाज लाग्ने गरी लागू हुने गरेको इतिहास नै छ। आफ्नै नेताहरुलाई मन नपरेका बेला ‘विदेशीका दलाल’, ‘गद्दार‘, ‘राष्ट्रघाती’, ‘भ्रष्टाचारी’ आदि पदवी भिराउने र एउटा कालखण्डपछि ‘प्रिय कमरेड’ भन्दै अँगालो हाल्ने गरेका दृष्टान्तहरु प्रशस्तै छन्।

पक्कै पनि पार्टीमा अन्तरविरोधहरु हुन्छन्। जसरी हरेक वस्तु र समाज अन्तरविरोधहरुको उपस्थितिमा मात्र अस्तित्वमा रहन्छ, त्यसैगरी कम्युनिस्ट पार्टी पनि अन्तरविरोधहरुमा उभिएर तिनलाई समाधान गर्दै गतिशील हुन्छ। नेकपा (एमाले) भित्र रहेका अन्तरविरोधहरुलाई मित्रतापूर्ण अन्तरविरोधहरुको समाधानसम्बन्धी कम्युनिस्ट पार्टीका नियमहरुका आधारमा समाधान गर्न सकिन्छ। आफूलाई लागेका विषयहरु कमिटीमा राख्ने र तिनलाई आम कार्यकर्ता पंक्तिको सरोकारका विषयका रुपमा स्थापित गर्नेबाहेक अन्तरविरोध समाधानको अर्को कम्युनिस्ट तरिका छैन। किनभने, विभाजनले शक्ति प्राप्त हुँदैन र त्यसले सफलतातर्फ लैजाँदैन भन्ने कुरा स्वयम् एमालेको इतिहासले सिद्ध गरिसकेको छ। यस्तो अवस्थामा समानान्तर रुपमा अघि बढ्दा त्यसले एक ठाउँमा उभिने सम्भावना नकार्छ, पार्टीलाई औपचारिक विभाजन तर्फ लैजान्छ र समयक्रममा कार्यकर्ताको एउटा पंक्तिलाई र संस्थागत रुपमा कम्युनिस्ट पार्टीलाई क्षति पुर्याउँछ। ०३९ र ०५४ सालमा क्षति भएका कार्यकर्ताको पंक्ति सम्झिँदा मात्रै पनि पुग्छ।

हामी भीरको डिलमा त पुगिसकेका छौँ तर अझै त्यसबाट लडेका छैनौँ। हामी सबैलाई थाहा छ, यसबाट अगाडि बढ्यो भने भीरबाट लड्नेबाहेक विकल्प रहँदैन। त्यसैले यसबाट फर्किने र सम्हालिने समय अझै छ। त्यसैले हामी सबैले आफ्नो र मुलुकको भविष्य सबल र गतिशील एमालेमा देख्नुपर्छ र आफूलाई चित्त नबुझेका कुराको उपचार पार्टी र पार्टी प्रणालीभित्र खोज्नुपर्छ। समानान्तर गतिविधिले विभाजनमा पुर्याउँछ र विभाजनले विनास निम्ल्याउँछ भन्ने तथ्य तर्फ हेक्का राख्दै पार्टी भित्रको संस्थागत अभ्यासमा फर्किनु पर्दछ।

पार्टी अध्यक्ष र पार्टीको मूलधारसँग असन्तुष्ट वा असहमत रहनु भएका सबै तहका नेता, कार्यकर्ता र सदस्य कमरेडहरुलाई आ–आफ्नो कमिटीको बैठकमा सहभागी हुन, लोकतान्त्रिक तरिकाले छलफलमा भाग लिन र पार्टीले दिएको जिम्मेवारी सम्हालदै नेकपा (एमाले) लाई एकतावद्ध, गतिशील र बलशाली तुल्याउने कार्यमा योगदान गर्न हार्दिक आग्रह गर्दछु। व्यक्तिले आफ्नो हैसियत गुमाउँदा पनि नेकपा (एमाले) र नेपाली कम्युनिष्ट आन्दोलनको हैसियत सुरक्षित र सुदृढ हुन्छ भने त्यसका लागि तयार हुन अनुरोध गर्दछु।नेपालखबरबाट साभार

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग