चित्रे होमस्टे : कोदोको पुवासँगै पञ्चेबाजाको ताल र भजनका टुक्का

पर्वत : सहरमा जति धेरै जनसंख्या रहे पनि तीमध्येका अधिकांश त गाउँले जीवनबाट नै आएका हुन्। गाउँको संस्कृति, परम्परा, चालचलन, रीतिरिवाज आदि भोगेर आएकाले नै उनीहरुलाई ‘होमस्टे’मा रमाउनुको मज्जा बेग्लै हुन्छ।

अघिल्लो वर्ष कोरोना भाइरस संक्रमणको जोखिम नरहेको बेलासम्म धेरैको रोजाइमा मोदी गाउँपालिका–८ चित्रेमा रहेको ‘चित्रे ग्रामीण पर्यटन होमस्टे’ परेको थियो। यहाँबाट देखिने प्राकृतिक दृश्यका साथै गुरुङ जातिको मौलिक कलाले चित्रेको होमस्टेमा जाने भनेपछि धेरैको मन जितेको थियो।

चित्रे हुँदै स्याङ्जा, कास्की र पर्वतको संगमस्थल पञ्चासेमा पदयात्रा गर्दै समेत जाने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न जाने आन्तरिक पर्यटकहरूको संख्या धेरै छ। होमस्टे पुग्न साथ गुरुङ पोशाकमा सजिएका महिलाबाट टीका, फूल र मालाबाट गरिने आतिथ्यले सबैलाई फुरुङ्ग बनाउँछ। खानाको रूपमा कोदोको पिठोबाट बनाइएको पुवा, सेल रोटी, गुन्द्रुक र भट्टको तरकारी, स्थानीय जातका गोलभेडाबाट बनाएको चटनी अनि लेकको चिसो पानीले मथेर बनाएको मोहीले धेरैलाई लोभ्याउँछ। चित्रेको होमस्टेका आकर्षणमा अग्र्यानिक र स्थानीय खानाका स्वादसँगै पञ्चेबाजाको ताल र भजनको टुक्का पनि रहेको होमस्टे विकास समितिका संयोजक मधुसोधन अधिकारीले बताए।

‘हामीकहाँ आउने पाहुनाहरू सबैभन्दा खुसी भएर फर्किनुपर्छ भन्ने हाम्रो मान्यता छ। पाहुनालाई भव्य स्वागत गर्ने, रोजेको स्थानीय परिकारका स्वादमा खाना खान पाउने, स्थानीय कला र संस्कृतिलगायतका कारण यहाँ लकडाउन नहुने बेलासम्म धेरै पाहुना आउने गर्नुभएको थियाmे,’ अधिकारीले भने, ‘लकडाउनका कारण अहिले पाहुना नआएको भए पनि बिस्तारै होमस्टे व्यवसाय माथि उठ्न थालेको छ। हामी फेरि यसमा हौसिएका छौँ।’

मौलिक कलाको प्रचार र प्रवर्द्धन तथा पाहुनाको मनोरञ्जनका लागि साँझमा पञ्चेबाजा र भजन टोलीको फरक फरक प्रस्तुतिले धेरैलाई रमाइलो लाग्ने गरेको होमस्टे सञ्चालकहरू बताउँछन्। जाडोको बेलामा ‘क्याम्प फायर’सहित पञ्चेबाजा र भजनको तालमा नाच्न पाउँदा होमस्टेमा पुग्नेहरूलाई झनै हौसाएको वडाध्यक्ष समेत रहेका सुकबहादुर गुरुङको भनाइ छ।

‘पाहुनाको रमाइलोका लागि उहाँहरूको चाहनाअनुसार बेलुकामा पञ्चेबाजा र भजनको टोली आउँछ। पालैपालो भजन र बाजा घन्किन्छ। कोही भजनमा कोही बाजामा नाच्छन्,’ वडाध्यक्ष गुरुले भने, ‘यो रमाइलोले पनि होमस्टे जाउँ जाउँ लाग्ने बनाएको भनेर आएकाहरूले भन्ने गर्नुहुन्छ।’

चित्रे ग्रामीण पर्यटन होमस्टे विकास समितिकी अध्यक्ष सुशीलादेवी गुरुङका अनुसार कोरोना महामारीभन्दा अगाडिसम्म वार्षिक तीन हजारभन्दा बढी पर्यटक होमस्टेमा पुग्ने गरेको तथ्यांक छ। चित्रेको होमस्टेलाई व्यावसायिक रूपमा भन्दा पनि सेवामुखी बनाइएको उनले बताइन्। कतिपय ठाउँमा होमस्टे चलाएर नै दैनिक गुजारा चलाउने स्थानीयको दैनिकी रहने गरेको भए पनि चित्रेमा होमस्टे चलाइरहेका सात घरका लागि त्यो बाध्यता छैन। जति बचत हुन्छ, त्यसको करिब दुई प्रतिशत वातावरण संरक्षण, शिक्षा, पर्यापर्यटनमा लगानी गर्ने गरेको र पाँच प्रतिशत होमस्टेको कोषमा राख्ने गरिएको छ। समितिका अनुसार चित्रेको होमस्टेमा एक पटकमा ७० जनासम्म राख्न सक्ने क्षमता छ।थाहाखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

कोरोना नियन्त्रणको प्रयासमा जुटे पर्वतका स्थानीय तह

मदन भण्डारी लोकतान्त्रिक आन्दोलनका धरोहर : प्रधानमन्त्री ओली

पर्वतको निषेधाज्ञामा आज देखि झनै कडाइ, बैंकसमेत बन्द

माधब नेपालको चाहना दिनभित्रै कार्यदलबाट निर्णय, ओलीको योजना बिहीबारपछि

औषधी उत्पादककले बन्द गरे कोरोना उपचारमा प्रयोग हुने औषधिको उत्पादन , मुल्य बढाउनुपर्ने माग