खेलाँची होइन कोरोना : एकै परिवारका तीनको मृत्यु, तीन आइसियूमा, चार आइसोलेसनमा

तनहुँ, ३० असोज । तनहुँको भिमाद नगरपालिका– ६ का ९८ वर्षीय धर्मकुमार श्रेष्ठ कान्छा छोराको चितवनस्थित घरमा बसिरहेका वेला ११ असोजमा बेहोस भए ।

परिवारजनले उनलाई तत्कालै चितवन मेडिकल कलेज लगे । आइसियूमा राखेर उपचारपछि उनी घर फर्किए, तर फर्कदा कोरोना पनि घर भित्रियो ।

धर्मकुमार अस्पतालमा भएको वेला परिवारका सदस्य पनि उनलाई भेट्न गएका थिए । उनीहरूमा पनि एक–एक गरेर संक्रमण देखियो । ‘अस्पताल जाँदा कोरोना सरेछ । एक–दुई गर्दागर्दै परिवारका १० जनालाई संक्रमण भयो,’ नाति सुमन श्रेष्ठ भन्छन् ।

‘कोरोना लागेमा आत्तिनुपर्दैन, घरमै आइसोलेसन बसे पनि सुरक्षित भइन्छ, बेहोस हुने जस्तो भए मात्र अस्पताल जानुहोला,’ सरकारको निर्देशन छ । श्रेष्ठ परिवारले पनि घरमै बसे सुरक्षित होइने भन्ने ठान्यो । ‘तर, सरकारमा बसेका ठूलाबडाको गैरजिम्मेवार कदमका कारण हामीले ठूलो मूल्य चुकाउनु पर्‍यो, एक सातामा तीन जनाको निधन भएको छ, सात जना गम्भीर अवस्थामा हुनुहुन्छ,’ सुमन भन्छन् ।

धर्मकुमार घर फर्किनुअघि उनका छोराहरूलाई कोरोना संक्रमण भइसकेको थियो । उनीहरू बाबुलाई भेट्न अस्पताल जाने–आउने गरेका थिए । सुरुमा उनीहरू होम आइसोलेसनमा बस्ने कोशिस गरेका थिए ।

७१ वर्षीय छोरा विष्णुकुमारलाई संक्रमण देखियो । ‘सुरुमा होम आइसोलेसनमा बस्नुभयो, गम्भीर हुँदै गएपछि चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । १९ असोजमा उहाँको ज्यान गयो,’ ज्वाइँ शंकरनारायण श्रेष्ठ भन्छन् ।

भाइ विष्णुकुमार चितवन मेडिकल कलेजमा उपचारकै क्रममा रहेको वेला ७४ वर्षीय दाजु कृष्णकुमारलाई काठमाडौंको बी एन्ड बी अस्पतालमा भर्ना गरिएको थियो । भाइको निधन भएको पाँच दिनपछि २४ असोजमा दाजुको निधन भयो ।

छोराहरू अस्पतालमा भएकै वेला धर्मकुमारलाई कोरोना देखिएको थियो । उनी पनि सिकिस्त हँुदै गए । उपचारका लागि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । छोरा कृष्णकुमारको निधन भएको अर्को दिन अर्थात् २५ असोजमा उनको पनि निधन भएको छ ।

कोरोनाले एकै परिवारका तीन जनाको ज्यान गएपछि धर्मकुमारको परिवार मात्रै होइन, भिमाद नै शोकमा डुबेको छ । गाउँ नै पिरोलिएको छ । यो परिवारका सात जना अहिले पनि कोरोनासँग लडिरहेका छन् ।

ज्वाइँ शंकरनारायणका अनुसार धर्मकुमारकी पत्नी ९८ वर्षीया विश्वशान्ति काठमाडौंस्थित टेकु अस्पतालको आइसियूमा छिन् । ‘उहाँलाई संक्रमण देखिएपछि ललितपुरको कुपन्डोलस्थित सर्वांग नर्सिङ होममा भर्ना गरिएको थियो । दुई दिन त्यहाँ राखेपछि आइसियू आवश्यक भयो । त्यसैले ह्याम्स लगिएको थियो, ह्याम्समा आइसियू नभएपछि टेकु अस्पताल लगिएको छ,’ उनले भने ।

त्यस्तै, धर्मकुमारका जेठा छोरा रामकुमारलाई पनि काठमाडौंस्थित ह्याम्स अस्पतालको आइसियूमा राखिएको छोरा सुमनले बताए । ‘बुबालाई ह्याम्स अस्पतालको आइसियूमा राखेको एक साता भयो, अझै कति दिन अस्पताल राख्नुपर्ने हो थाहा छैन,’ सुमनले भने । रामकुमारकी बुहारी रजनी श्रेष्ठ पनि संक्रमित छिन् ।

कोरोना संक्रमण देखिएकी धर्मकुमारकी साइँली बुहारी पनि अस्पतालमै छिन् । उनको पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । त्यस्तै धर्मकुमारकी छोरी शुभद्रा र ज्वाइँ शिवकुमार श्रेष्ठ पनि संक्रमित छन् ।

सरकारको गैरजिम्मेवारीका कारण आफ्नो परिवारका तीनजनाले ज्यान गुमाउनुपरेको मृतक कृष्णकुमारकी छोरी सरिता श्रेष्ठ गुनासो गर्छिन् । ‘संक्रमण हुनेबित्तिकै अस्पताल जाउँ भनेर हामीले अनुरोध गरेका थियौँ, तर रुघोखोकी हो, केही पनि हुँदैन भनेर सरकारले भनिरहेको छ भनेर बुबा होम आइसोलेसनमा बस्नुभयो,’ उनले भनिन्, ‘बुबा पाँच दिनसम्म घरमै बस्नुभयो । त्यतिन्जेल उहाँको फोक्सोमा धेरै असर गरेको रहेछ ।’

अथाह मूल्य चुकाएको श्रेष्ठ परिवार कोरोना संक्रमणलाई सामान्य रूपमा लिन नहुने बताउँछ । ‘मानिसले कोरोनालाई सामान्य रूपमा लिएका छन् । यो सामान्य छैन,’ शंकरनारायण भन्छन्, ‘अरूको कुरा सुन्दा त सामान्यजस्तै लाग्छ । जब आफन्त गुमाइन्छ, त्यसपछि थाहा हुन्छ, यो कति खतरनाक छ ।’ संक्रमणलाई गम्भीरतापूर्वक लिएर उपचारको प्रयास गर्नुपर्ने उनको भनाइ छ ।

यो परिवारले तीनजना गुमाएको मात्र छैन, उपचारमा पैसा पनि धेरै खर्च गरिसकेको छ । ‘हजुरबुबाको उपचारमा मात्रै पाँच लाख खर्च भयो, सबैको उपचारमा १८ लाख लागिसकेको छ, अझै अस्पतालमा उपचार जारी छ,’ सुमन भन्छन्, ‘सरकारी अस्पतालमा बेड छैन, निजी अस्पतालले कति भन्छन् भन्ने ठेगान छैन । पैसा जुटाएर अस्पताल लग्दा त हामीले बचाउन सकेनौँ, केही नहुनेले कसरी उपचार गर्न सक्छन् ?’ नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

भर्खरै view all

फेरि सुर्खेत फर्कियो कर्णाली विवाद : मुख्यमन्त्रीले बोलाए शुक्रबार संसदीय दलको बैठक, कँडेल पक्ष अनुपस्थित हुने

निर्मला हत्या प्रकरणः पुराना फाइल पल्टाउँदै प्रहरी

अध्यक्ष तिमिल्सिना र नवनियुक्त दक्षिण कोरियाका राजदूत पार्क छोङ-सुकबीचबीच शिष्टचार भेट

पर्वतको पैंयुँमा पनि स्वास्थ्यका कर्मचारी सहित दुई जना संक्रमित थपिए

पर्वत समन्वय समितिका जनप्रतिनिधिद्धारा चाडपर्व खर्चको २ लाख ३५ हजार कोरोना कोषमा जम्मा