सरकारले भन्यो : गौतम बुद्ध नेपालका हुन्, यो बहसको विषय होइन

काठमाडौं , साउन २५/ सरकारले भगवान गौतम बुद्ध नेपालमा जन्मिएको कुरा स्वतसिद्ध स्थापित भइसकेकाले यसबारेमा विवाद गर्नुपर्ने कुनै कारण नरहेको बताएको छ।

भारतीय विदेश मन्त्री सब्रमन्यम जयशंकरले शनिबार एक भिडियो संवादका क्रममा गौतम बुद्ध र महात्मा गान्धी भारतका महान् व्यक्ति भनेर टिप्पणी गरेपछि परराष्ट्रले त्यसबारेमा नेपालको धारणा सार्वजनिक गरेको हो।

‘गौतम बुद्ध नेपालमा जन्मिएको कुरा ऐतिहासिक र पुरातात्विक तथ्यबाट साबित भइसकेको कुरा हो। गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको कुरा विश्‍वले स्वीकारेको छ’, परराष्ट्रले आइतवार भनेको छ, ‘बुद्धको जन्मस्थान तथा बुद्ध धर्मको सुरुवात भएको ​लुम्बिनीलाई युनेस्कोले पनि विश्‍व सम्पदा सूचीमा राखिसकेको छ।’ परराष्ट्रले बौद्ध धर्म नेपाल हुँदै संसारभर फैलिएको पनि भारतलाई स्मरण गराएको छ। ‘यो सत्य हो, बौद्ध धर्म नेपालपछि फैलिँदै विश्‍वका अन्य भागमा पुगेको हो’, परराष्ट्रले भनेको छ, ‘यो मामिला कुनै अवस्थामा सन्देहपूर्ण हुन सक्दैन। यसलाई विवादित बनाउने या यस्तै किसिमका कुनै पनि बहस हुन सक्दैन। पूरा विश्‍व गौतम बुद्ध नेपालमा जन्मिएको कुरामा सचेत र जानकार छ।’

परराष्ट्रले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा सम्बोधनका क्रममा पनि गौतम बुद्ध नेपालमै जन्मिएको भनेर दिएको अभिव्यक्तिलाई पनि स्मरण गराएको छ। ‘सन् २०१४ मा आफ्नो नेपाल यात्राका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वयम् यहाँको संसदमा सम्बोधन गर्दै ‘नेपाल नै त्यो देश हो, जहाँ विश्‍वमा शान्ति फैलाउने गौतम बुद्धको जन्म भएको थियो,’ परराष्ट्रले भनेको छ।

के भनेका थिए जयशंकरले?

भारतीय विदेशमन्त्री जयशंकरले गौतम बुद्ध भारतीय भएको दाबी गरेका थिए। भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रीद्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा सम्बोधन गर्दै उनले यस्तो भनेका थिए। ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो। पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी। र, हामीले मात्र होइन यी दुईलाई यसरी चिन्ने पूरै विश्वले नै महान् भारतीयका रुपमा चिन्छ’, उनले भनेका थिए।

भारतीय राजनीतिक नेतृत्वबाट गौतम बुद्धलाई भारतको दाबी गरिएको यो पहिलो पटक भने होइन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुई वर्षअघिको बुद्ध पूर्णिमाको अवसर दिएको मन्तव्यमा भारत बुद्धको भूमि भएको दाबी गरेका थिए। मोदीको उक्त भनाइको पनि नेपालमा विरोध भएको थियो। मोदीले ठीक ६ वर्षअघि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै नेपाल बुद्ध भूमि भएको र सारा विश्वलाई शान्तिका लागि प्रेरित भएको उल्लेख गरेका थिए।

भारतीय पक्षबाट बेलाबखत आउने यस किसिमका अभिव्यक्तिहरूको नेपालमा चर्को विरोध हुँदै आएको छ। भारतीय पक्षबाट लुम्बिनीका सम्बन्धमा हुँदै आएका यस किसिमका अभिव्यक्तिले नेपालमा तीव्र प्रतिरोध हुँदै आएको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’