बिरामी बोक्ने पास बनाएर चौबर भाडामा यात्रु ओसारपसार

फोटो कान्तिपुरबाट

पोखरा, साउन २३ / जिपलाई १ हजार रुपैयाँ भाडा तिरेर बागलुङका सज्जनकुमार सिंह बुधबार पोखरा आए । भगवती जिप सञ्चालक कम्पनीले उनीसँग साढे दुई गुना बढी भाडा असुल्यो । यसअघि जिपको भाडा ४ सय रुपैयाँ थियो । सिंहले भाडा बढी भएकाले घटाउन भने । जिप चालकले सवारी पास बनाउन जिल्ला प्रशासनमा पैसा बुझाएकाले भाडा घटाउन नसक्ने जवाफ फर्काए ।

सात सिट क्षमता भएको जिपले सातै जना राखेर पोखरा ल्यायो । ‘बुबा बिरामी भएकाले जसरी पनि पोखरा आउनु थियो,’ सिंहले भने, ‘बढी भाडा तिरेरै भएपनि आएँ ।’ एउटै जिपमा व्यक्तिपिच्छे फरक–फरक भाडा लिइएको उनले सुनाए ।

कोरोना संक्रमणका कारण सरकारले लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको छैन । अत्यावश्यकबाहेकका निजी सवारीसाधनलाई समेत एक जिल्लाबाट अर्को जिल्ला जान अनुमति छैन । तर, सार्वजनिक र निजी सवारीले विभिन्न बहानामा जिल्ला प्रशासनबाट पास बनाएर यात्रु ओसार्ने गरेको भेटिएको छ । सुरक्षाका उपाय नपनाएका ती सवारीसाधनले भाडासमेत अस्वाभाविक रूपमा असुलिरहेका छन् ।

बा३ख ४६६७ नम्बरको माइक्रोबस बुधबार यात्रु बोकेर पोखराबाट काठमाडौंका लागि छुट्यो । बसले यात्रुसँग २ हजार रुपैयाँ भाडा लियो । उक्त भाडा नियमितभन्दा ४ गुणा बढी हो । निजी सवारीसाधनले समेत पोखराबाट यात्रु ओसारिरहेका छन् । उनीहरूले लिने भाडा सार्वजनिक सवारीसाधनले लिनेभन्दा चर्को छ ।

जापान फर्किने तयारीमा रहेका पोखरा, मालेपाटनका राजन तिमिल्सिना बिहीबार ३ हजार रुपैयाँ तिरेर स्कर्पियोमा काठमाडौं गए । छिमेकीको स्वास्थ्य जाँच गर्न काठमाडौं लैजान पास बनाएको जिपमा उनी पनि गएका हुन् । जापानी दूतावासले ‘नो अब्जेक्सन लेटर’ लिन बोलाएकोले बढी भाडा तिरेरै भएपनि काठमाडौं जान लागेको उनले सुनाए । ‘आफ्नो काम परेपछि तिर्नुपर्‍यो,’ उनले भने, ‘यस्तो बेला धन्न गाडी पाइयो भन्नुपर्‍यो ।’

बागलुङ–पोखरा चल्ने जिपका चालक रामबहादुर गुरुङ जोखिम मोलेर गाडी चलाएको बताउँछन् । कोरोनासँगै बाढीपहिरोको डर हुँदाहुँदै यात्रुकै आग्रहमा सुविधा दिएको उनको भनाइ छ । ‘कोही बिरामी हुन्छन्, कोही जागिरमा फर्कने हुन्छन्,’ उनले भने, ‘सुविधा दिऊँ भनेर चलाएको हो । गाडी थन्क्याएर मात्रै पनि भएन ।’ बिरामी बोक्ने भनेर एकपल्टमा तीन दिनको पास बनाउने गरेको उनले सुनाए । पास बनाउन कुनै रकम नबुझाएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कास्कीबाट काठमाडौं जान दैनिक ६० सवारीसाधनले पास लिने गरेका छन् । अन्य जिल्ला जान पास लिने पनि त्यति नै संख्यामा छन् । सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलका अनुसार उपचारका लागि सवारी पास लिएर जाने झन्डै ६० प्रतिशत छन् । जागिरमा फर्किने २० प्रतिशत छन् । बाँकीले वैदेशिक रोजगार, विवाह, मृत्यु, श्राद्धजस्ता कार्य, सर्वोच्चमा तारेख धाउने, व्यवसायमा फर्किनेलगायत प्रयोजनमा पास लिन्छन् । ठूला सवारीसाधनलाई जिल्लाबाहिर यात्रु बोक्ने गरी पास नदिएको उनको दाबी छ । ‘बसलाई पास दिने नीति नै छैन,’ उनले भने, ‘अन्य जिल्लाले पनि यहाँ भित्रिन सोधेका छैनन् ।’

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसी भने हाल दिनमा १–२ वटा लामो दूरीका यात्रुवाहक बस छुटिरहेको बताउँछन् । ‘गाडीधनीले आफ्नै ढंगले पास बनाएर यात्रु ओसारेका छन्,’ उनले भने, ‘डबल भाडा लिएको सत्य हो ।’

पूर्वमा काँकडभिट्टा र पश्चिममा धनगढीसम्म बस छुट्छन् । त्यताबाट यात्रु लिएर आउँदा सामाजिक दूरी कायम हुँदैन । न त जिल्ला भित्रिनेको कुनै स्वास्थ्य जाँच हुन्छ । प्रशासनले सामान्यतया एक साताको सवारी पास उपलब्ध गराउँछ । निजी र भाडाका सवारीसाधनले १–२ दिनमै काम सकेर बाँकी समय यात्रु ओसार्ने गरेको पाइएको छ ।

पास दुरुपयोग गर्दै निजी गाडीले यात्रु बोकेको अध्यक्ष केसीले बताए । ‘एक जना बिरामीको पास बनाएर यात्रु ओसार्ने निजी गाडी धेरै छन्,’ उनले भने, ‘मेरै आफन्तले काठमाडौं जान ३ हजार ५ सय रुपैयाँ भाडा बुझाएका छन् ।’

सरकारकै अकर्मण्यताले गर्दा भदौ १ पछि समेत लामो दूरीका बस सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । २ सिटमा एक जना मात्रै राखेर, सुरक्षाका उपाय अपनाई डेढ गुना बढी भाडा लिएर सञ्चालन गर्ने यातायात व्यवसायीको प्रस्तावप्रति सरकार सकारात्मक नरहेको उनले थपे । ‘पोखराबाट चितवन जान ३ ठाउँ गाडी फेर्नुपर्छ,’ उनले भने, ‘यसले असुरक्षा बढ्ने नै भयो, भाडा पनि महँगो पर्ने भयो । कम्तीमा प्रदेशभित्र भए पनि व्यवसायीको प्रस्तावअनुसार यातायात चलाउनुपर्छ ।’ यात्रु बोकेर छुट्ने बसको ट्रिप शुल्क काट्न प्रालिले पृथ्वीचोक काउन्टरमा दुई कर्मचारी खटाएको छ ।

जिल्ला ट्राफिक कार्यालय प्रमुख सन्तोष रोका भने यात्रु बोकेर लामो दूरीका बस छुटेको स्विकार्दैनन् । ‘विदेशबाट आएर काठमाडौं होल्डिङ सेन्टरमा बसेकालाई लिन केही बस रित्तै जान्छन्,’ उनले भने, ‘उताबाट फर्किंदा पनि प्रोटोकलअनुसार नै मान्छे राखेर ल्याउँछन् ।’ जिल्लाभित्र भने दुई सिट बराबर एक जना मात्रै राखेर सार्वजनिक सवारी चलाउन दिएको उनको दाबी छ । ‘धेरै यात्रु राखेको भेटिए उनीहरूलाई ओराल्ने र गाडी नियन्त्रणमा लिएर कारबाही गर्ने गरेका छौं,’ उनले भने ।

लकडाउन खुलेपछि भने जिल्लाका नाकाहरूमा राखिएका हेल्थ डेस्क हटाइएका छन् । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख बाबुराम आचार्य बसमा भीडभाड गरेर यात्रा गर्दा कोरोना फैलने जोखिम बढ्ने बताउँछन् । त्यसरी आउने यात्रु क्वारेन्टाइनमा पनि नबस्ने भएकोले जोखिमपूर्ण हुने उनको भनाइ छ । कास्कीमा भित्रिने यात्रुको स्वास्थ्य जाँच गर्न स्पष्ट निर्देशन कतैबाट नआएको उनले बताए । ‘अहिले बढी कन्ट्याक्ट ट्रेसिङमा लाग्नुपरेको छ,’ उनले भने, ‘सवारीसाधनको चाप बढेकोले स्वास्थ्य जाँच गर्न जनशक्तिले धान्ने अवस्था छैन ।’कान्तिपुर दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’