इटली, अमेरिकाजस्तो कोरोना महामारी रोक्न – व्यापक परीक्षण गर्ने, लकडाउन एक हप्ता थप्ने

दुई जनामा कोरोना भाइरस संक्रमण देखिएपछि लकडाउन गर्न सरकार बाध्य भयो। लकडाउनको नौ दिनसम्म नागरिकहरुले सरकारको कदमलाई समर्थन गरेको देखिन्छ। अनेकौँ समस्या झेलेर भएपनि मानिसहरु घरमै बसेका छन्।

तर, जोखिम अझै समाप्त भएको छैन। नेपालमा कोरोना संक्रमणलाई यत्तिकैमा रोक्न अबको दुई हप्ता हामीले के गर्छौँ, त्यो असाध्यै महत्वपूर्ण हुनेछ।

चैत ४ मा कतार एयरवेजबाट नेपाल आएकी एक युवतीमा संक्रमण देखिएको थियो। त्यो विमान आएको १४ दिन कटिसकेको छ। अर्थात्, ‘इन्क्युबेसन’ अवधि पूरा भइसकेको छ। त्यसपछि जुन उडानबाट आएकामा संक्रमण देखिएको छ, त्यसको पनि ‘इन्क्युबेसन’ अवधि सकिन लागेको छ।

भारतमा पनि संक्रमितको संख्या बढिरहेको अवस्थामा लकडाउनले नेपालमा भाइरस नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको छ। तथापि, लकडाउन भएपछि पनि भारतबाट थुप्रै मानिस नेपाल प्रवेश गरेका छन्। पूरै नियन्त्रण गर्न नसकेपनि लकडाउनले आउने क्रम कम गरेको छ।

लकडाउनको कारण ती कोही पनि व्यक्ति बाहिर जान पाएका छैनन् र बाहिर नगएका मानिसबीच भाइरस सरेको प्रमाण अहिलेसम्म प्राप्त नभएकाले अलिकति आशावादी हुने ठाउँ देखिएको छ।

विदेशबाट आएका सबै यात्रुलाई ट्रेसिङ गर्न सकिएको छैन। संक्रमितसँगै आएका व्यक्तिहरुलाई खोजेर हामी सम्पर्कमा पुगेका छौँ। तर सबैलाई फेला पार्न सकिएको छैन।

उदाहरणका लागि, पछिल्लो पटक यूएईबाट आउनुभएको एक जना काठमाडौंबाट बुद्ध एयर चढेर नेपालगन्ज र त्यहाँबाट माइक्रोबस चढेर घर जानुभएको रहेछ। उहाँ कुन माइक्रोमा जानुभयो, त्यो पहिचान गर्न सकिएको छैन। तैपनि खोजी गर्न त्यहाँको स्थानीय तह, प्रहरी र प्रशासन लागिपरेका छन्।

कोरोना संक्रमितमध्ये दुई जना यो रोगबारे जानकार हुनुहुँदो रहेछ। एक जनाले आफूसँग बसेको साथीलाई कोरोना भएको थाहा पाउनेबित्तिकै घरमा बुढी आमालाई पनि नछोइकन सेल्फ क्वारन्टिनमा बस्नुभएको रहेछ। टेकु अस्पताल पुग्दा पनि बुबासँग आफ्नै गाडीमा सुरक्षित तवरले गएको पाइयो। उहाँले अरुलाई संक्रमण हुन नदिएको देखिन्छ।

यस्तै, बाग्लुङका पहिलो संक्रमित घरमै सुरक्षित रुपमा क्वारन्टिनमा बसेको थाहा भयो। उहाँ अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ।

अरु दुईजना भने वैदेशिक रोजगारमा गएको र कोरोनाबारे त्यति जानकार नभएको हामीसँगको कुराकानीबाट थाहा भयो। सोही कारण उहाँहरुले साथीभाइ बोलाएर सँगै खाना खानुभएछ। त्यसपछि उहाँहरुको संगतमा रहेका सबैलाई क्वारन्टिनमा राखिएको छ। तर, तीमध्ये कसैलाई पनि कोरोना देखिएको छैन।

उनीहरुको सम्पर्कमा रहेका अन्य व्यक्तिलाई सरेको छ कि छैन, त्यो खोज्न बाँकी नै छ।

एकजना धादिङका युवा विमानस्थलबाट ओर्लिनेबित्तिकै ट्याक्सी चढेर होटल जानुभएको रहेछ। ट्याक्सी पहिचान भएपनि चालक पहिचान गर्न समस्या पर्‍यो। भन्न त ट्याक्सी चालकहरुलाई हामीले भनेका छौं।

चिकित्सकीय भाषामा कतै यात्रा नगरेको व्यक्तिमा संक्रमण देखियो भने त्यसलाई ‘स्थानीय संक्रमण’ भनिन्छ। यसलाई डरलाग्दो मानिन्छ। नेपालमा हालसम्म यस्तो संक्रमण देखिएको छैन। अहिलेसम्म भेटिएका ६ जना कोरोना संक्रमित सबै आयातित केस हुन्।

आफूमा लक्षण नदेखिई धेरैलाई भाइरस सार्ने व्यक्तिलाई ‘सुपर स्प्रेडर’ भनिन्छ। नेपालमा त्यस्ता ‘सुपर स्प्रेडर’ छन् कि छैनन्, तिनले समुदायमा भाइरस पुर्‍याएका छन् कि छैनन्, थाहा छैन। त्यसकारण अर्को एकहप्तासम्म हामीले निगरानी राख्नुपर्ने हुन्छ।

अहिले चिन्ताको अर्को विषय पनि देखिएको छ। भारतको एक मस्जिदमा गएका ९ जना नेपाली अहिलेसम्म नेपाल आएको पाइएको छ। उनीहरु संक्रमित छन् छैनन्, त्यो ख्याल गर्नुपर्ने अवस्था छ। यसको नतिजा पनि अबको दुई हप्तामा मात्रै प्रष्ट हुन्छ।

लकडाउनले सम्भावित संक्रमितहरुलाई बाहिर जान दिएको छैन। त्यसैले सार्ने सम्भावना न्यून छ। त्यही भएर आगामी हप्ता हामी सचेत रहन जरुरी छ।

नेपाल आइपुगेको कोरोना भाइरस फरक


नयाँ भाइरसको उत्पत्ति र प्रकृति हेर्दा चीनबाट, युरोप, अमेरिका हुँदै भारत र नेपालमा आएको छ, संसारका २ सय देशमा यो पुगिसकेको छ। नेपालमा आएको भाइरस र इटलीमा भएको भाइरस फरक प्रकृतिको छ।

वुहानबाट नेपालमा आएको भाइरसको जिनको विश्लेषण गरेर हामीले हेरिसक्यौं। यता आएको र इटली गएको भाइरसको ‘फाइलोजेनेटिक क्यारेक्टर’ फरक छ।

इटलीमा सुरुमा कम देखिएपनि एकहप्ता पछि महामारीकै रुप लिने अवस्थामा पुगेको थियो। भारतमा इटलीभन्दा एकदिन अगाडि देखिएपनि भाइरसले प्रकोपको रुप लिएको छैन। सोही आधारमा नेपालमा भयावह हुने अवस्था देखिँदैन।

यता आएको भाइरस कडा खालको देखिएन, सोही आधारमा हामी आशावादी भएका छौं। अझै लकडाउन लम्ब्याउँदा अवस्था राम्रो हुन्छ।

भाइरस दुई किसिमको हुन्छ आरएनए र डीएनए। नयाँ कोरोना भाइरस आरएनए भाइरस हो। यो प्रकारको भाइरस २५ डिग्रीभन्दा माथिको तापक्रममा धेरैबेर जीवित रहन सक्दैन, मर्छ, कमजोर हुन्छ। तर, यो सार्स–कोभ–२ लाई तापक्रमले कति असर गर्छ, देखिन बाँकी छ। जे भए पनि गर्मी बढ्दै जाने मौसम हाम्रो लागि फाइदाजनक हुनसक्छ।

एक्कासि महामारी फैलिने सम्भावना कति छ?


नेपालमा यसको सम्भावनाबारे हामीले राम्ररी अध्ययन गरिरहेका छौँ।

दिनमा कति मानिस निमोनिया भएर अस्पताल आएका छन्, हामी हेरिरहेका छौँ। किनभने कोरोनाको लक्षण त निमोनिया हो। अघिल्लो वर्ष र अहिले २ महिनाको तुलना गर्दा निमोनिया र ज्वरोको बिरामीको संख्यामा वृद्धि भएको देखिँदैन।

त्यसैले नेपालमा अचानक इटली, स्पेन, अमेरिकाको जस्तो महामारी आउने अवस्था देखिँदैन।

तर, अहिलेसम्म महामारी आएन, अब पनि आउँदैन भनेर ढुक्क भएर बस्न हुँदैन। हामी सजग छौँ।

व्यापक परीक्षण गर्ने, लकडाउन एक हप्ता थप्ने


कोरोना नियन्त्रणका लागि अबको दुई हप्ता अत्यन्त महत्वपूर्ण छ। यो समयमा क्वारन्टिनमा बसेकाहरुलाई मात्रै होइन, जोखिम रहेको समुदायमा पुगेर व्यापक परीक्षण गर्नुपर्छ। समुदायमा गएर बिरामी भएका व्यक्तिहरुको लगत संकलन गर्ने र शंकास्पद बिरामीको तथ्यांक लिएर परीक्षण गर्नुपर्छ।

परीक्षणमा पनि हामीले विचार पुर्‍याउनुपर्ने हुन्छ। टेस्ट किट दुई खालका हुन्छन्। एउटा एन्टिबडी टेस्ट किट र अर्को रोगअनुसारको स्पेसिफिक टेस्ट किट।

एन्टिबडी टेस्ट किटले शरीरमा नभएको रोग पनि देखाइदिन्छ। स्पेसिफिक किटको प्रयोगले जुन रोग हो, त्यसकै बारेमा राम्ररी जानकारी दिनसक्छ। हामीले यी दुवै किट प्रयोग गर्न सक्यौं भने सबैभन्दा उपयुक्त हुन्छ।

सरकारले चैत २५ सम्मका लागि लकडाउन घोषणा गरेको छ। जोखिम न्यूनीकरणका लागि अझै एक हप्ता लकडाउन लम्ब्याउनु उचित हुन्छ।

त्यस्तै, हामी हरेक कुरामा भारतसँग जोडिएका छौं। भारतमा महामारीले कस्तो रुप लिन्छ, त्यसैअनुसार हामीले सतर्कता अपनाउनुपर्छ।

सीमामा हामीले कडाइ गर्नुपर्ने हुन्छ। मुख्य नाका बन्द भए पनि मानिसहरु ओहोरदोहोर गरिरहेका छन्। भारतको अवस्था हेरेर लकडाउन बढाउनुपर्ने पनि हुनसक्छ।

लकडाउन गर्नुभन्दा अघि जति मानिस नेपाल आए, उनीहरुलाई निगरानी गर्नुपर्छ।

गर्मीसँगै तराईमा लामखुट्टे, झिंगाका कारण डेंगु, हैजाजस्ता रोग फैलिन सक्छन्। त्यसबाट बच्न आवश्यक तयारी गर्नुपर्छ।

फेरि, स्वास्थ्यकर्मीले ज्वरोको उपचार नगर्ने, डेंगुको उपचार नगर्ने भन्ने खालको समस्या पनि आउन सक्छ। उनीहरुलाई सबै रोगको उपचार गर्नेगरी विश्वासमा लिनुपर्ने हुन्छ। हामी कोरोनातिर सतर्क रहँदा अन्य रोगका बिरामीले उपचार नपाउने अवस्था आउन दिन भएन।

ज्वरो आउँदा र सामान्य खोकी लाग्दा पनि उपचार नपाउने घटना देखिन थालेका छन्। त्यस्तो हुनुभएन।

अरु बिरामीका लागि अस्पताल पूरै बन्द गर्नु हुँदैन। विभिन्न खालका बिरामी हुन्छन्, उनीहरुलाई विशेष ध्यान दिएर सरकारले स्वास्थ्य संस्थाबारेमा नयाँ योजना बनाउनुपर्ने देखिन्छ।

भाइरस नियन्त्रणः नागरिकको पनि जिम्मेवारी


भाइरस नियन्त्रणमा आम नागरिकको पनि जिम्मेवारी छ। घरभित्र बस्दा पनि सरसफाइमा ध्यान दिने, स्यानिटाइजर प्रयोग गर्नुपर्छ। घरमा बसेको भनेर मदिरा, धुम्रपान गर्नुभएन। रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुपर्‍यो। अन्य रोगको संक्रमण पनि हुन नदिन सचेत बन्नुपर्‍यो।

गाउँघरतिर पातलो बस्ती, खुला हावा हुने भएकोले काम गर्दा हुन्छ। खेतबारीमा एक्लाएक्लै काम गर्दा हुन्छ।

सरकारले पनि आम नागरिकलाई तत्काल क्वारन्टिन र आइसोलेसन भनेको के हो, त्यहाँ के हुन्छ भन्ने बारेमा प्रष्ट पार्नुपर्छ।

हेलचेक्र्याइँ ठूलो भूल हुनेछ


इटली र अमेरिकाले कोरोना भाइरसलाई बेवास्ता गरेका कारण अहिले ठूलो समस्या बेहोर्नुपरिरहेको छ।

अमेरिकीहरुले पहिले ‘चाइनिज भाइरस’ भनेर खासै सचेतता अपनाएनन्, त्यत्रो समस्या हुँदा पनि उनीहरुले तत्काल लकडाउन गरेनन्। हामीले २ वटा केस देखिनेबित्तिकै लकडाउन गरेका छौं। सीमा बन्द गरेका छौं र राष्ट्रिय अन्तर्राष्ट्रिय उडान बन्द गरेका छौं।

अब हामीले युरोपको जस्तो हेलचेक्र्याइँ दोहोर्‍याउनु हुँदैन। लकडाउनको पूर्ण पालना गरि घरभित्र बस्ने, शंकास्पद लागेकाहरु क्वारन्टिनमा बस्ने र एकपटक परीक्षण गराउने गर्नुपर्छ। विदेशबाट आएका, वैदेशिक रोजगारबाट फर्केकाहरु सेल्फ क्वारन्टिनमा बस्नुपर्‍यो।

(डा. वासुदेव पाण्डे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुन्न   ) –
नेपालखबर डटकमबाट 

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’