मध्य फागुनमा बजारमा मुस्ताङी स्याउ !

पोखरा/मध्य फागुनमा मुस्ताङी स्याउ ! विक्रेताले मुस्ताङको अर्गानिक स्याउभन्दा पनि ग्राहकले हत्तपत्त पत्याउँदैनन् । नपत्याएर के गर्नु यतिबेला पोखरालगायत बजारमा मुस्ताङको स्याउ बिक्री भइरहेको छ ।

पोखरा–२६ बुढीबजारमा मंगलबार कोल्डस्टोरमा राखिएको मुस्ताङी स्याउ बिक्रीका लागि प्याकिङ गर्दै । तस्बिर : लालप्रसाद शर्मा/कान्तिपुर

सामान्यतया हरितालिका तिजलगत्तै पूर्ण रूपमा पनि नपाक्दै मुस्ताङको स्याउ बजारमा आउँछ, तिहार आसपाससम्म पाइन्छ । त्यसपछि भने चीन र भारतबाट ल्याइएको स्याउले बजार ढाक्छ । पोखरा–२६ बुढीबजारस्थित मालिका एग्रो ग्रुपको कोल्डस्टोर (शीतभण्डार) मा राखिएको मुस्ताङी स्याउ यतिबेला बजारमा बिक्री भएको हो ।कोल्डस्टोरमा गत असोज/कात्तिकमा ३०० टन स्याउ राखिएको थियो ।

मुस्ताङको स्याउ पोखरामा कोल्डस्टोरमा राखेर बेसिजनमा बिक्री भएको यो पहिलो हो । ‘सिजनमा मात्रै मुस्ताङी अर्गानिक स्याउ पाइने तर बेसिजनमा नपाइने उपभोक्ताको गुनासोपछि कोल्डस्टोरमा राखेका थियौं,’ सञ्चालकमध्येका एक दलराज पुनले झने, ‘अहिले धमाधम बेचिरहेका छौं । सुरुसुरुमा वित्रेताले समेत नपत्याएर स्याउ खरिद गरेनन् । अहिले भने माग आइरहेको छ ।’

ग्रुपले पोखराबाहेक पर्वत, बागलुङ, बेनी, काठमाडौं, चितवन र बुटवलसम्म स्याउ पुर्‍याएको छ । प्रतिकिलो डेढसय रुपैयाँका दरले बजारमा पठाइएको कोल्डस्टोरका अर्का सञ्चालक बेगप्रसाद गर्बुजाले बताए । ‘कोल्डस्टोरमा राखेर मुस्ताङी स्याउ बेसिजनमा उपभोक्ताकामा पुर्‍याउने उद्देश्यले पहिलो अभ्यास गरेका हौं,’ उनले भने, ‘स्याउसहित आलु, तरकारीलगायत कृषिजन्य उत्पादन कोल्डस्टोरमा राख्छौं ।’ अहिलेसम्म १०० टन स्याउ बिक्री भएको छ ।

कोरोना भाइरसका कारण चीनबाट स्याउ आयात रोकिएकाले बिक्री बढेको छ । कोल्डस्टोरमा मुस्ताङको मार्फा बागवानी केन्द्र र केही किसानको स्याउ ल्याएर भण्डारण गरिएको थियो । बेसिजनमा मुस्ताङको स्याउ खान नपाइने अवस्थाको यो कोल्डस्टोरले अन्त्य गरिदिएको उपभोक्ता बताउँछन । ‘सुरुमा मुस्ताङको स्याउ भन्ने पत्यारै लागेन’ पोखरा–८ की प्रतिभा गौतमले भनिन्, ‘थोरै किनेर चाख्दा स्वादिलो भयो । मुस्ताङको भन्ने पक्का भएपछि अहिले खोजीखोजी किन्ने गरेको छु ।’ यसअघि पोखरामा केही व्यवसायीले कोल्डस्टोरमा राखेर मुस्ताङी स्याउन बेच्ने प्रयास पनि गरेका थिए । तर पुरानो प्रविधिका कारण सफल भने भएन । गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अनुदान र ६ उद्यमीको ५ करोड लगानीमा वर्षअघि कोल्डस्टोर बनेको हो । कोल्डस्टोरमा फलफूल, तरकारीलगायतको भण्डारण गर्न मिल्छ । स्टोरमा प्रदेश सरकारको साढे २ करोड रुपैयाँ लगानी छ । सञ्चालक गर्बुजाले प्रदेशका किसानलाई लाभ पुग्ने गरी शीतभण्डार सञ्चालनमा ल्याएको बताउँछन् । उत्पादन धेरै हुँदा कहाँ राख्ने भन्ने किसानको चिन्ता हटेको उनको भनाइ छ ।

कोल्डस्टोर बनाउँदै प्रदेश सरकार
खर्च संचित नमिल्दा रोकिएको कोल्ड स्टोर निर्माणको काम पुन: सुचारु भएको छ । साउनदेखि माघसम्म रोकिएको कामको गत सातादेखि प्रक्रिया अघि बढाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले गत वर्ष २ कोल्ड स्टोर बनाएको थियो । चालु वर्ष ६ बनाउने योजना अघि सारेअनुसार अहिले १४ आवेदन दर्ता भएका मन्त्रालयको योजना महाशाखा प्रमुख ग्रीष्म न्यौपानेले बताए । प्रदेशभरि उत्पादन हुने फलफूललाई मध्यनजर गर्दै कोल्ड स्टोरमा लगानी बढाएको मन्त्रालयको भनाइ छ ।

६ वटै कोल्ड स्टोर १०० टनभन्दा माथिको क्षमताका हुने छन । नवलपुर, गोरखा, कास्की, स्याङ्जा र तनहुँबाट मात्र आवेदन परेको छ । कोल्डस्टोर चालु आवभित्र सम्पन्न हुने गरी काम भएको मन्त्रालयले बताएको छ । मन्त्रालयले एउटा कोल्ड स्टोरलाई डेढ करोड रुपैयाँ अनुदान दिनेछ ।

‘कोल्ड स्टोर निर्माणको लागि स्थानीय तह, प्राइभेट कम्पनी, सहकारी तथा समूहरूले प्रस्ताव हालेका छन्,’ न्यौपानेले भने, ‘स्थानीय तहले आफूले पनि लागत हाल्ने गरी प्रस्ताव गरेको छ ।’ गतबर्ष मन्त्रालयले २५ वटा कोल्ड स्टोरको योजना अघि सारेको थियो । जसमध्ये २ वटा ठूला र अन्य मध्यम साथै साना थिए । पोखरा–२६ बुढीबजार र १४ चाउथेमा निर्माण गरिएका दुई ठूला कोल्ड स्टोर सञ्चालनमा आइसकेका छन् । दुवै स्टोरको क्षमता ५ सय टन रहेको छ । अन्य साना भनिएका जम्मा १० टनका छन् । कोल्ड स्टोरको अभावमा उत्पादन भएका वस्तु सस्तो मूल्यमा फाल्नुपर्ने र बजार अभावका कारण बारीमै सुकाउनुपर्ने अवस्था रहेकाले सरकारले योजना बनाएर नै काम गरेको महाशाखा प्रमुख न्यौपानेले बताए । प्रदेशका ११ वटै जिल्लामा सरकारको कोल्ड स्टोर निर्माण गर्ने लक्ष्य रहेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बताए ।कान्तिपुर दैनिकले समाचार छापेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’