रुष्ट फकाउन प्रधानमन्त्री ओलीको डिनर डिप्लोमेसी

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिन लामो केन्द्रीय कमिटी बैठकपछि आइतबार केन्द्रीय सदस्य र सांसदहरूका लागि बालुवाटारस्थित सरकारी निवासमा रात्रिभोज आयोजना गरे । साँझ ६ देखि करिब ९ बजेसम्म चलेको भोजमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल साँझ ७ बजेतिर मात्रै पुगे । नेपाल पुगेपछि ओलीका छेउमा बसिरहेका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सिट छोडिदिए । ओली र नेपाल नजिकिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार नेकपा केन्द्रीय सदस्यका लागि आयोजित रात्रिभोजमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलगायत नेताहरू । तस्बिर : दिलु पन्तको फेसबुक

६/७ वटा व्यक्तिगत निमन्त्रणाका बाहिरी भोजहरू सकेर बालुवाटार पुगेका नेपालले खानामा उति रुचि देखाएनन् तर उनलाई लालमोहन मन पर्छ भन्ने थाहा पाएका ओलीले हलुवा र लालमोहन ल्याइदिन आग्रह गरे । नेपालले मीठो मानेर खाए । ठुल्ठूलो स्वरमा गीत बजिरहेकाले के भलाकुसारी भयो भनेर भोजमा सहभागी अरूले सुन्न सकेनन् तर उनीहरूबीच निकैबेर कुरा भयो । गत कात्तिक अन्तिम साता झन्डै दुई घण्टा छलफल गरेयता ओली र नेपालबीच सौहार्दपूर्ण रूपमा संवाद भएको देखिएको टिप्पणी त्यहीं पनि भएको थियो । प्रधानमन्त्री ओली रात्रिभोजमा धेरैबेर बसे, नेपालसँग मात्रै होइन, अरू नेता र कार्यकर्तासँग पनि संवाद गरे, हात मिलाए र फोटो खिचाए ।

खासखास अवस्थामा प्रधानमन्त्री ओलीले यस्ता कार्यक्रम आयोजना गरेर आफूसँग भड्किएका नेता–कार्यकर्तासँग दूरी घटाउने कोसिस गरेका नजिर थुप्रै छन् । त्यस्ता खास अवस्था के हुन त ? ओलीनिकट एक नेता भन्छन्, ‘पार्टीमा आफू कमजोर भएका बेला, पार्टीभित्रको अर्को गुट सलबलाएका बेला र बनिरहेको अर्को कुनै समीकरण भत्काउनुपरेका बेला उहाँले डिनर डिप्लोमेसी अपनाउनुहुन्छ ।’ उनले यसअघि माधव नेपाल, वामदेव गौतमलगायतका नेताको जन्मदिनमा केक काटेका उदाहरण पनि छन् । त्यसो भए ओलीलाई यसपालि पार्टीमा अप्ठ्यारो परेकै हो ? ‘सम्पूर्ण परिस्थिति बुझेपछि उहाँले आफ्नो शैली परिवर्तन गर्नुभयो,’ स्थायी कमिटी सदस्य युवराज ज्ञवाली भन्छन्, ‘नेकपाको पार्टी जीवनमा नेतृत्व स्वेच्छाचारी तरिकाले हिँड्ने अवस्था छैन भन्ने यसले प्रमाणित गर्‍यो ।’ ज्ञवालीले प्रत्येक समूहमा भएको छलफलबारे प्रधानमन्त्री ओलीलाई राम्रोसँग रिपोर्टिङ भएकाले पनि सन्तुलित अभिव्यक्ति आएको हुन सक्ने टिप्पणी गरे ।

भैंसेपाटी भेलाको असर
स्रोतहरू भन्छन्, कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा भएको भैंसेपाटी भेलाले प्रधानमन्त्री ओलीलाई सबैभन्दा कमजोर बनायो । सभामुख कसलाई बनाउने भन्ने रसाकस्सी चलिरहेका बेला दाहालसहित पार्टी सचिवालयका पाँच सदस्यले वामदेव गौतमको निवासमा भेला भएर सभामुख पूर्वमाओवादी पक्षलाई दिनुपर्ने सहमति गरे । सरकार एकलौटी चलाउने र पार्टीमा पनि एकछत्र गर्ने ओलीको तरिका नरुचाएका दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, नेपाल, गौतम र नारायणकाजी श्रेष्ठ विपक्षमा देखिए । उनीहरूको यो जुटाइ ओलीलाई स्पष्ट सन्देश दिनका लागि थियो ।

सचिवालयमै अल्पमतमा परेपछि ओलीसँग अरू नेताको कुरा सुन्नुको विकल्प थिएन, उनी अध्यक्ष दाहालको प्रस्तावमा पूर्वमाओवादीतर्फबाट सभामुख चयन गर्न सहमत भए । यससँगै पेलेरै निर्णय गर्न सकिन्छ भन्ने उनको धारणा बदलियो । पार्टीका बैठकहरूमा उनी रक्षात्मक देखिन थाले । भैंसेपाटी भेलामा सहभागी सचिवालय सदस्यहरू झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई भेटेर उनले भेलाका बारेमा जानकारी पनि लिए । उनीहरूसँग भएको संवादबाट त्यो समीकरण भत्काउन नसकिने रहेछ भन्ने स्पष्ट सन्देश ओलीलाई मिलेको थियो । उनलाई सचिवालयमा साथ दिन केबल ईश्वर पोखरेल र विष्णु पौडेल मात्रै बाँकी रहे । ‘त्यसपछि उहाँले आफ्नो शैली बदल्नुको विकल्प रहेन,’ बालुवाटार स्रोत भन्छ ।

पहिलोपटक भने– पार्टीले सरकार चलाउँछ
ओली सरकार गठन भएको यो दुई वर्षमा उनी पार्टीको निर्देशन र तजबिजमा सरकार चल्छ भन्नेमा कहिल्यै पनि सहमत देखिएनन् । ओली र उनी निकटवर्तीहरूले सार्वजनिक रूपमै पनि सरकार र पार्टी फरक भएकाले कतिपय अन्तरवस्तु मिल्न नसक्ने बताउँदै आएका थिए । पार्टीका शीर्ष नेताहरू सरकारले गरेकामध्ये धेरै निर्णय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि मात्रै थाहा पाउँथे । त्यसैले गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधनका लागि आउने भनिएको अध्यादेशलगायतमा देखिएको विरोधको सामना सरकार एक्लैले गर्नुपर्‍यो ।

पार्टीबाट साथ पाउन नसकेपछि कतिपय निर्णयमा सरकार पछि हट्नुपरेको महसुस स्वयं प्रधानमन्त्रीले पनि गरे । ‘केन्द्रीय कमिटी बैठकको समूहगत छलफलमा ओली पक्षधर नेताहरू कोही न कोही थिए,’ नेकपाका एक सचिवालय सदस्य भन्छन्, ‘ओली सरकारले चालेका पश्चगामी कदम र त्यसले पार्न सक्ने प्रभावबारे उठेका छलफलको रिपोर्टिङ उहाँलाई जस्ताको त्यस्तै गरियो ।’ सम्पूर्ण समूहको रिपोर्टिङमा पार्टीले सरकार चलाउनुपर्छ भन्ने कुरा जोडदार रूपमा उठेपछि ओली त्यसलाई सम्बोधन गर्न बाध्य भएका छन् ।

केन्द्रीय सदस्य झपट रावल कुकुरले पुच्छर हल्लाउँछ कि पुच्छरले कुकुर हल्लाउँछ भन्ने प्रश्न सबै समूहमा उठेको बताउँछन् । रावलको भनाइ छ, ‘सायद प्रधानमन्त्रीज्यूले समूहगत छलफलको निचोड बुझेरै पार्टीले सरकार चलाउँछ भन्नेमा सहमत हुनुभयो होला, यो सकारात्मक हो ।’ यद्यपि ओली सरकारले अनगिन्ती असाधारण काम गरेको फेहरिस्त सुनाएका थिए । उनले पार्टीका नेताहरूलाई समेत सरकारको कामबारे जनस्तरमा गएर जानकारी गराउन आग्रह गरेका थिए । ‘हो, त्यो प्रधानमन्त्रीज्यूको आग्रह थियो,’ नेकपाका एक केन्द्रीय सदस्यको टिप्पणी छ, ‘नत्र उहाँ आग्रहभन्दा धेरै निर्देशन दिन रुचाउने मान्छे हो ।’

एमसीसीले गलायो
केन्द्रीय कमिटी बैठकको सुरुवाती दिनसम्म ओलीलाई लागेको थियो– एमसीसीसँगको अनुदान सम्झौता संसद्बाट सजिलै पारित गराइन्छ । तर पार्टी बैठकको एजेन्डासमेत नरहेको यही विषय प्रत्येक सदस्यको मुख्य एजेन्डा बनेपछि प्रधानमन्त्री ओलीलाई बैठकको मत सुन्न कर लाग्यो । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ नेपालका कम्युनिस्ट पार्टीमा नेता–कार्यकर्ताका कुरा राम्रोसँग सुन्ने संस्कार रहेको जिकिर गर्छन् । ‘पार्टीमा उठेका कुरा मज्जाले सुन्ने हाम्रो पुरानै शैली हो, त्यसैले कतिपयले हामीलाई कुरा सुन्ने तर कार्यान्वयन नगर्ने भनेर आक्षेप पनि लगाउँछन्,’ नेम्वाङले कान्तिपुरसँग भने, ‘योपटक अघिल्लापटक भन्दा अलि धेरै कुरा सुनियो ।’

नेकपाभित्र ओलीको बदलिएको शैलीबारे अर्को टिप्पणी पनि छ । उनले एक्लै पार्टी चलाउने आफ्नो पुरानो शैलीको सशक्त विरोध भएको थाहा पाएपछि आफूलाई अलिकति बदलेका छन् । ‘सरकार र पार्टी एक्लै चलाउने र आलोचकलाई किनारा लगाउने दृष्टिकोणबाटै ओलीजीको राजनीति अघि बढेको हो,’ एक स्थायी कमिटी सदस्यको भनाइ छ, ‘तर त्यसरी चल्ने हो भने पार पाउन सकिन्न भन्ने उहाँले यसपटक राम्रोसँग बुझ्नुभयो ।’

उसो त ओली एमसीसी अध्ययन कार्यदल बनाउने मुडमा पनि थिएनन् । उनले स्थायी कमिटी बैठकमा जस्तै केन्द्रीय कमिटीमा पनि उठेका विषय राम्रोसँग मनन गरिएको र त्यसमा सचिवालय बैठकले उचित निर्णय गर्ने जवाफ दिने पक्षमा थिए । तर अर्का अध्यक्ष दाहाल उनको कुरामा सहमत भएनन् । दाहालले कार्यदल र त्यसका सदस्यहरूको नाम प्रस्ताव गरेपछि उनी त्यसमा सहमति जनाउन बाध्य भएका हुन् ।

सरकारको कठोरपन उस्तै
‘पार्टीमा पो दुई अध्यक्ष छन्, छलफल हुन्छन्, कुरा बाहिर आउँछन्,’ पूर्वएमालेकै तर्फबाट सरकारमा सहभागी एक मन्त्रीले भने, ‘मन्त्रिपरिषद्मा उहाँ र हामीबीचको सम्बन्ध नोकर र मालिकको जस्तै हो ।’ उनका अनुसार ओली अहिले सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका गोकुल बाँस्कोटाबाहेक अरू सबैको एजेन्डामाथि रूखो ढंगले केरकार गर्छन् । अरूका कुरा कम सुन्छन् र आफ्ना धारणा धेरै राख्छन् ।

‘कतिसम्म भने उहाँ आफ्नै विश्वासमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको कुरा पनि राम्रोसँग सुन्नुहुन्न,’ ती मन्त्रीले भने, ‘उहाँहरूको एजेन्डामा समेत अति सोधपुछ गरेको देखेर हामी छक्कै पर्छौं ।’ ओली मन्त्रीहरूसँग मात्रै होइन, सचिवहरूसँग पनि कडा मिजासमा प्रस्तुत हुन्छन् । ओलीको शैलीकै कारण पनि उनीसँग रुष्ट हुनेको संख्या धेरै रहेको टिप्पणी मन्त्रीहरू गर्छन् । तर ओलीनिकट मानिने केन्द्रीय सदस्य उनी यही शैलीकै कारण यहाँसम्म आइपुगेको बताउँछन् । ‘उहाँलाई पार्टीभित्रै घेराबन्दीमा पार्दा पनि यही शैलीकै कारण यहाँसम्म आइपुग्नुभएको हो,’ ओलीनिकट केन्द्रीय सदस्य विशाल भट्टराई भन्छन्, ‘स्वास्थ्य अनुकूल रहँदासम्म र उहाँ खट्न सकुन्जेलसम्म प्रधानमन्त्रीज्यूका लागि अरू केही कुरा प्रतिकूल छैन ।’कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’