पर्वतको डहरे देउराली होमस्टेमा यसरी हुन्छ पाहुनालाई सालैजोले स्वागत

पर्वत / बोलाऊँ भने खै कसो कसो,

नबोलाऊँ त ख्याल ख्यालमै दिल बसो,

मध्य रातमा त्यो तारा खसो, मलाई भने तिम्रो पीर छ जसो।

चरीले खोपेको, मायाले मुख किन छोपेको? मुख किन छोपेको?

हो हो हो सालैजो, मुख किन छोपेको?

यो मात्रै होइन, ठाडो भाकामा आधारित पर्वतको विशेषता बोकेका यस्तै खालका धेरै सालैजो गीत गाए पर्वतको फलेवास नगरपालिका–२ थापाठानास्थित खुममा रहेको डहरे देउराली सामुदायिक होमस्टेका सञ्चालकहरूले। पर्वत सदरमुकाम कुस्मा बजारबाट होमस्टेमा बस्न भनी पुगेको युवाहरूको समूह होमस्टेमा पुग्न अगावै सांस्कृतिक विविधता झल्किने मगर समुदायको पोशाकमा सजिएका युवती र महिलाहरू फूलका गुच्छा र सेता अक्षता लिएर आँगनमा निस्किन्छन्।

उनीहरूले पर्वत क्षेत्रका मगर समुदायमा प्रचलित सालैजोका ठाडा भाकाहरू गाउँदै स्वागत गर्छन्। गाउने समूहमा गाउँका महिला, विद्यालय पढ्दै गरेका बालबालिका, होमस्टे व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य लगायत हुन्छन्। होमस्टे सञ्चालन गर्ने क्रम तीव्र छ। विभिन्न ठाउँका होमस्टेहरूले आ–आप्mनै खालका विशेषता छन्। कतिपय होमस्टे कोदोका परिकाहरु खान उपयुक्त छन् त कतिपय होमस्टेमा फापरका परिकार। कतिपय होमस्टेमा गुरुङ समुदायका कला र संस्कृति त कतिपयमा मगर समुदायको विशेषता। पर्यटकहरु पनि यिनै विशेषताबारे थाहा पाएर इच्छाअनुसार विभिन्न होमस्टेहरूमा जाने गरेका छन्। तिनै होमस्टेहरूको घुइँचोमा सालैजो गीतको स्वाद चखाउन र मगरहरूको मौलिक कला र संस्कृति देखाउन थापाठानाको डहरे देउराली सामुदायिक घर बास पनि एक मानिएको छ।

खुमको होमस्टे सालैजोसँगै झाम्रे र पञ्चेबाजाको रमाइलोको लागि पनि उत्तम रहेको होमस्टे सञ्चालक तथा वडा सदस्य मनकुमारी थापाले बताइन्। ‘होमस्टेमा बस्न आउनेहरू कोहीले पञ्चेबाजामा रमाइलो गर्ने मन गर्नुहुन्छ, कोहीलाई सालैजो र झाम्रो भाका मन पर्छ,’ उनले भनिन, ‘पाहुनाहरूलाई दिइने आनन्द र सन्तुष्टिका लागि यहाँको होमस्टे राम्रो रहेको भनेर पाहुनाहरूले सुझाव दिने पुस्तिकामा लेखिएको छ।’ गीत सङ्गीतको रमाइलोसहित खानाका परिकारहरूप्रति पनि पाहुनाहरूको आकर्षण रहेको होमस्टे सञ्चालक तोयराज थापाले बताए। स्वास्थ्यका लागि राम्रो मानिने सिस्नोका परिकार, मकै, भट्ट, कोदोका परिकार, स्थानीय जातका कुखुराको मासु, तामाको अचार, स्थानीय फलपूmललगायतले पनि पाहुनाहरूको मन तानेको उनको अनुभव छ। यस्तै, धार्मिक स्थलको रूपमा रहेको डहरे देउरालीमा होमस्टेबाट एक घण्टाको पैदल यात्राबाट पुग्न सकिन्छ। त्यही बाटोमा पार्ने ढुङ्गामा देवीको वाहन बाघको पन्जाको छाप स्पष्ट देखिने गरी रहनुले पनि पर्यटकहरूलाई आकर्षण गरेको स्थानीय रबिना थापामगरले बताइन्। ‘हाम्रो गाउँमा होमस्टे सञ्चालनमा आएको तीन वर्ष मात्रै भएको छ। पाहुनाहरूको आगमन राम्रै भएको छ,’ उनले भनिन, ‘यहाँ आएर जानेहरूले आफ्ना साथीहरूलाई जानकारी गराउनुभएकाले होला आउने धेरैले बाघको पाइला हेर्ने ठाउँमा लैजान भन्नुहुन्छ।’ प्राचीन कालमा देवी बाघसँग रिसाएर लौरीले हान्ने बेलामा बाघ फड्किने बेलामा उक्त छाप बनेको किंवदन्ती छ।

डहरे देउरालीमा पाहुनाहरू आउने क्रम बढेसँगै सामुदायिक भवन निर्माण गर्ने गरी योजना तयार पार्न थालिएको वडा सदस्य थापाले बताइन्। गण्डकी प्रदेश सरकारले प्रदेशका प्रत्येक होमस्टेको विकास र प्रवर्द्धनका लागि १० लाख रुपैयाँ प्रतिहोमस्टे दिने प्रतिवद्धता दिएको छ। यद्यपि, त्यो रकम भने आपूmहरुले नपाएको उनको भनाइ छ। केही वर्षअघिसम्म खेतबारीका काममा मात्र व्यस्त हुने पर्वतका स्थानीयहरू पछिल्लो पाहुनाका लागि मीठा परिकार बनाउन व्यस्त हुन्छन्। पाहुनाहरूसँग गफिएर त्यहाँका विभिन्न ठाउँबारे जानकारी गराउन व्यस्त हुन्छन्। होमस्टे सञ्चालन महिलाहरू बढी सक्रिय छन्। यही कारण केही वर्षअगाडिसम्म परिवारको गर्जो टार्न घरका लोग्ने मान्छेको भर पर्ने गरेका महिलाहरू आाफैं नै घर खर्च चलाउने मात्र होइन राम्रो आम्दानी गर्न सफल भएका छन्। कार्कीनेटा, चित्रे, भूक, देउराली, दुर्लुङ, ठूलीपोखरी, खौला, आर्थर, पकुवा, तिलाहार, राम्जा, थापाठाना, भँगरा, ठानामौला, लिमिठाना, खानीगाउँ, बाँसखर्क, बनौँ, शालिजा, लेकफाँट, लेस्पार, भोक्सीङ, पाखापानी, लुँखु, बालाकोट, भोर्ले, त्रिवेणी, हुवास, शालिग्राम, उरामपोखरा, बर्राचौर लगायतका ठाउँमा गरेर पर्वतमा झन्डै ४० भन्दा बढी होमस्टेहरू सञ्चालनमा रहेका छन्। अझै केही स्थापनाको चरणमा पनि रहेका छन्।थाहाखबरमा सञ्जय रेग्मीले लेखेको समाचार साभार गरिएको हो ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’