‘प्याडम्यान’ बन्ने सरकारको सपना अधुरै

काठमाडौं।सामुदायिक विद्यालयका १४ लाख छात्रालाई मंसिरमा सेनेटरी प्याड बाँड्ने कार्य पूरा नहुने भएको छ। अहिलेसम्म कार्यविधि र बजेट व्यवस्थापन नभएकाले मंसिरभित्रै ‘प्याडम्यान’ बन्ने सरकारको सपना अधुरै रहने निश्चित भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंसिर १ गतेदेखि सबै सामुदायिक विद्यालयका कक्षा ६–१२ का छात्रालाई उक्त प्याड वितरण गर्ने घोषणा गरेको थियो। यसअघि भने कात्तिक १ गतेदेखि वितरण गर्ने योजना सार्वजनिक गरिएको थियो।

मन्त्रालय स्रोतका अनुसार हालसम्म कार्यविधि र बजेट व्यवस्थापन नभएका कारण ढिलो हुने भएको हो। ‘रफ्तारमा काम गरे पुसमा वितरण हुन सक्छ।’ –स्रोतले भन्यो। राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गर्नुभएको नीति तथा कार्यक्रममा कात्तिक १ गतेदेखि सबै छात्रालाई सेनेटरी प्याड वितरण गर्ने उल्लेख छ।

नीति कार्यक्रममा उल्लेख भएको विषयमा स्वास्थ्य मन्त्रालयले आफ्नो कार्यक्षेत्रमा पर्ने जनाउँदै बजेट तयार गरेको थियो। बजेट तयार गरेलगत्तै स्वास्थ्य मन्त्रालयले सबै छात्रालाई सेनेटरी प्याड उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब २ अर्ब ६५ करोडको बजेट पेस गरेको थियो।

शिक्षा मन्त्रालयले आफ्नो मातहतमा पर्ने विषयमा स्वास्थ्य मन्त्रालयले हस्तक्षेप गर्न खोजेकामा आपत्ति जनाउँदै टेन्डरमार्फत प्याड खरिद गर्ने तयारी गरेको थियो। मन्त्रालयबाट खरिद गरी दिने तयारी भएपछि विरोध भएको थियो। लगत्तै मन्त्रालयले स्थानीय तहमार्फत खरिद गरी वितरण गर्ने व्यवस्था गरेको थियो।

अहिले शिक्षा विकास तथा मानव स्रोत केन्द्रले विद्यार्थी संख्या यकिन गर्ने, संघ र प्रदेश सरकारले सहजीकरण गर्ने, स्थानीय सरकारले आवश्यक पर्ने प्याड खरिद गर्ने र विद्यालयले वितरण र विसर्जन गर्ने गरी कार्यविधि निर्माण भइरहेको छ।

मन्त्रालयका योजना महाशाखा प्रमुख कमल पोखरेलले कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै यसै महिनाभित्र कार्यविधि स्वीकृत गरी अर्थ मन्त्रालयबाट वित्तीय हस्तान्तरण गर्ने र मंसिर १ गतेदेखि प्याड वितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो।

मन्त्रालयले नीति र कार्यक्रममा उल्लेख भएको राष्ट्रपति शैक्षिक कोषमा रहेको करिब ५ अर्ब रुपियाँमध्ये केही रकम प्याड वितरण गर्ने कार्यक्रममा खर्च गर्ने तयारी छ। मन्त्रालयले एक छात्रा बराबर ४८ वटा प्याड वितरण गर्ने योजना बनाएको छ। कार्यविधिमा प्याड विसर्जनको व्यवस्थापनलाई विशेष ध्यान दिइएको छ।

वातावरणीय असर नपर्ने गरी विसर्जन गर्न स्थानीय निकायले सबै विद्यालयलाई निर्देशन दिने विषय उल्लेख छ। मन्त्रालयले प्याड वितरण अलावा ‘वास’ कार्यक्रमअन्तर्गत छात्रालाई साबुन वितरण गर्ने योजनासमेत तय गरेको छ।

महाशाखा प्रमुख पोखरेलले सबै छात्रालाई प्याड वितरण गर्न करिब डेढ अर्ब रुपियाँ लाग्ने जानकारी दिनुभयो।करिब १४ लाख छात्रा भएको अनुमान गरे पनि शिक्षा विकास तथा मानव स्रोत केन्द्रले तथ्यांक संकलन गरिरहेको छ।

प्याड वितरण गरेपछि यसलाई विसर्जन गर्ने तरिका सिकाउन स्थानीय तहले दक्ष जनशक्ति विद्यालयमा परिचालन गर्ने योजनासमेत तय गरिएको छ।नेपाल समाचारपत्र दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’