ज्येष्ठ नागरिकहरुको जीविकोपार्जनमा वृद्धभत्ताको योगदान

-भानुभक्त पौडेल

सामान्यतयः ज्येष्ठ नागरिकहरु भन्नाले ६० वर्ष पुरा भएका र सो उमेर भन्दा माथीका नागरिकहरुलाई बुझिन्छ । ज्येष्ठ नागरिकहरुलाई समाजका गहनाको रुपमा पनि लिने गरिन्छ । हिजोआज विभिन्न उद्देश्य लिएर सक्रिय उमेर समूहका मानिसहरु गाउँबाट सहरतिर बसाई सर्ने प्रवृत्ति बढेसँगै खासगरी ग्रामिण क्षेत्रका ज्येष्ठ नागरिकहरु एक्लै बस्न बाध्य भएका छन् । कमजोर शारीरिक अवस्था र काम गर्न नसक्ने हुँदा उनीहरुमा एक्लोपना हुने, दुब्र्यवहार तथा उमेरकै कारणबाट समाजबाटै अपहेलित हुनुपरेको समेत पाइन्छ । नेपालको संविधान २०७२ को धारा ४१ अनुसार ज्येष्ठ नागरिकहरुलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनि उल्लेख गरिएको छ । ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ को दफा ९ उपदफा २ र ४ का अनुसार यातायात र स्वास्थ्य सेवामा ज्येष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुट दिने ब्यवस्था गरेको भएपनि कार्यान्वयनमा आउन सकेको छैन । ज्येष्ठ नागरिकहरूका लागि अपेक्षित मात्रामा सामाजिक सुरक्षा, सुविधा, क्षमता र उपयोग आदि जस्ता कार्य संचालन गर्न नसकिएको भएतापनि केही मात्रामा कल्याणकारी संरक्षणात्मक कार्यको प्रारम्भ गरिएको छ । सरकारको विभिन्न आवधिक योजनामा ज्येष्ठ नागरिकको सम्बन्धमा निर्धारण गरिएको नीति अनुरूप थोरै मात्रमा भएपनि ज्येष्ठ नागरिकहरुका पक्षमा कार्यहरू भैरहेको पाईन्छ । विश्वभर नै ज्येष्ठ नागरिकहरुको जनसंख्या हरेक वर्ष बढ्दो क्रममा रहेको छ । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा रहेको कुल जनसंख्याको करिब १४ प्रतिशत जनसंख्या ६० वर्ष भन्दा माथीको रहेको छ । त्यस्तै नेपालको पछिल्लो जनगणना २०६८ अनुसार नेपालमा कुल जनसंख्याको ८.१३ प्रतिशत ज्येष्ठ नागरिकहरु रहेका छन् भने वि.सं. २०७८ सम्ममा यो संख्या बढेर करिब १२ प्रतिशत पुग्ने प्रक्षेपण समेत गरिएको छ । सन् १९९० को डिसेम्वर १४ मा संयुक्त राष्ट्रसंघको महासभाले अवदेखि प्रत्येक वर्षको अक्टोवर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने भनी प्रस्ताव नं ४५÷१०६ पारित गरेको थियो । त्यसै प्रस्तावको पालना गर्दै राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरुले सन् १९९१ अक्टोवर १ देखि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरेका थिए । यसैक्रममा “उमेरजन्य विभेद अन्त्यको यात्रा” ९त्जभ व्यगचलभथ तय ब्नभ भ्त्रगबष्तिथ० को नारा सहित सन् २०१९ अक्टोवर १ अर्थात २०७६ असोज १४ गते २९ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
हरेक नागरिकले पाउने सामाजिक सुरक्षा ब्याक्तिको सर्वमान्य अधिकार हो भने आफ्नो देशका सम्पूर्ण नागरिकहरुको सामाजिक सुरक्षाको ब्यवस्था गर्नु राज्यको कर्तब्य हो । ज्येष्ठ नागरिकहरुको सामाजिक सुरक्षाको लागि वृद्ध भत्ताको ब्यवस्था हुनु पनि अर्को महत्वपूर्ण पक्ष हो । ज्येष्ठ नागरिकहरुको लागि सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गर्ने पहिलो देश जर्मनी हो भने अमेरिकामा सन् १९३५ देखि ज्येष्ठ नागरिकहरुको लागि सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गरिएको थियो । त्यस्तै नेपालमा पनि वि.सं. २०५१ साल देखि तत्कालिन सरकारले ७५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई बृद्ध भत्ता प्रदान गर्न सुरु गरिएको थियो भने आ.व. २०६७।६८ देखि ७० वर्ष माथीको उमेरलाई ज्येष्ठ नागरिक मानी बृद्ध भत्ता प्रदान गरिएको थियो । मासिक एक सय रुपैंयाबाट सुरु भएको बृद्ध भत्ता आ.व. २०६९।७० देखि मासिक रु ५००, आ. व. २०७२।७३ देखि रु १०००, आ.व. २०७३।७४ देखि रु २००० र चालु आ.व. २०७६।७७ को बजेट मार्फत पुनः रु एक हजारले बृद्धि गरि मासिक रु ३००० पुगेको छ । सामाजिक सुरक्षा कार्यक्रम कार्यसञ्चालन कार्यविधी २०७२ ले दलित नागरिकहरुको लागि ६० वर्ष र अन्यको हकमा ७० वर्ष पुरा भएपछि सो रकम पाउने ब्यवस्था गरेको छ । समग्रमा बृद्ध भत्ताको रकम मासिक रु २००० र ७० वर्ष पुरा भएका ज्येष्ठ नागरिकहरुको लागि थप रु १००० औषधी उपचार खर्च स्वरुप प्रत्येक स्थानिय तहबाट उपलब्ध गराइँदै आएको छ ।
श्रमयोग्य जनशक्तीको अभावमा खासगरी ग्रामिण क्षेत्रका ज्येष्ठ नागरिकहरुले ७० वर्ष पार गरिसक्दा समेत जीविकोपार्जनका लागि नियमित रुपमा कामकाज गर्न बाध्य भएका छन् । ज्येष्ठ नागरिकहरुको आम्दानीको मुख्य स्रोत भनेको वृद्धभत्ता नै रहेको छ । चार महिनामा एकपटक प्राप्त हुने वृद्धभत्ताको रकम बैंकबाट भुक्तानी गर्ने ब्यवस्था भएतापनि अब्यवस्थित र अबैज्ञानिक तरिकाले निर्धारण गरिएका शहरी क्षेत्र तथा विकासको असमान वितरणका कारण प्रत्येक वडाहरुमा कुनैपनि बैंकहरु सञ्चालन हुन सकेको छैनन । नियमित सार्वजनिक यातायातको समेत सुविधाबाट बञ्चित ग्रामिण स्तरका ज्येष्ठ नागरिकहरु वृद्धभत्ता लिनकै लागि घण्टौँ लगाएर हिँडेरै शहरी क्षेत्रमा पुग्नुपर्ने समस्या यथावत नै रहेको छ । दिनानुदिन महंगीको स्तर बढिरहेको अवस्थामा सरकारबाट सामाजिक सुरक्षा भत्ताको रुपमा प्राप्त उक्त रकमले ज्येष्ठ नागरिकहरुको दैनिक जीवनलाई निर्वाह गर्न नपुग्ने भएतापनि ग्रामिण क्षेत्रमा बसोबास गर्ने र कुनैपनि आयआर्जनको स्रोत नहुने लाखौँ ज्येष्ठ नागरिकहरुको लागि भने वृद्धभत्ता कार्यक्रम निकै नै महत्वपुर्ण र आकर्षणको रुपमा रहेको छ । अन्य कुनैपनि आयआर्जनका माध्यामहरु नभएका कारण वृद्धभत्ता स्वरुप प्राप्त उक्त रकम खासगरी घरयासी खर्च, खाना तथा लत्ताकपडा र स्वास्थ्य उपचारमा नै खर्च गरेको अध्ययनबाट देखिन्छ । साथै वृद्धभत्ता कार्यक्रमले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य उपचार, सामाजिक जिवन तथा दैनिक जिवनमा सकारात्मक परिवर्तन ल्याउनुका साथै गरिबी घटाउनमा समेत वृद्धभत्ताको महत्वपुर्ण योगदान रहेको छ ।
हरेकवर्ष ज्येष्ठ नागरिकहरुको संख्या वृद्धि सँगै वृद्धभत्ताको रकममा समेत वृद्धि हुँदै गैरहेको छ । एकातिर ज्येष्ठ नागरिकहरुले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ताबाट उनिहरुको दैनिक जिवन चलाउन पर्याप्त छैन भने अर्कोतर्फ हरेक वर्ष सरकारलाई थप आर्थिक भार समेत थपिँदै गैरहेको छ । नेपालीहरुको औषत आयु बढ्दै जाने, ज्येष्ठ नागरिकहरुको संख्यामा वृद्धि हुँदै जाने, बृद्धभत्ताको रकम पनि बढ्दै जाने तर उक्त रकमको स्रोत जुटाउन नसक्ने हो भने सरकारको लागि सामाजिक सुरक्षा भत्ता कार्यक्रम नै ठुलो समस्या र चुनौतीको विषय बन्न जानेछ ।
ज्येष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत राज्यबाट उपलब्ध हुँदै आइरहेको वृद्धभत्ता विशेष गरि कमजोर आर्थिक अवस्था भएका र गरिबीको चपेटामा परेका घरपरिवारका ज्येष्ठ नागरिकहरुका लागि महत्वपुर्ण आर्थिक सहायता बनेको छ । ज्येष्ठ नागरिकहरुलाई उनीहरुको चाहाना, सिप र क्षमताअनुसार विभिन्न प्रकारका आयआर्जनका क्रियाकलापहरुमा सहभागी गराउनु जरुरी रहेको छ । वृद्धभत्ता कार्यक्रमलाई अझै सरल, सहज र प्रभावकारी बनाउनुपर्ने देखिन्छ । वृद्धभत्ताको रकम सकिन्छ भने प्रत्येक घर–घरमा गएर वितरण गर्ने नसके कम्तिमा पनि प्रत्येक टोलटोलमा गएर वृद्धभत्ता रकम वितरण गर्न सके अशक्त ज्येष्ठ नागरिहरुलाई निकै सहज हुनुका साथै भत्ता रकम बुझ्न जाँदा भत्ताबराबरकै रकम खर्च गर्नु पर्ने बाध्यकारी अवस्था आउने थिएन । ज्येष्ठ नागरिकहरुको जिवनलाई गुणस्तरिय र सुरक्षित बनाउनको लागि राज्यद्धारा समुचित ब्यवस्था गरिनुपर्दछ ताकि उपयुक्त पालनपोषण र रेखदेखको अभावमा ज्येष्ठ नागरिकहरु विभिन्न समस्याबाट पिडित बन्न नपरोस । समय परिवर्तन सँगै राज्यका सम्पुर्ण जातजाती र बर्गका ब्याक्तिहरुमा आर्थिक तथा सामाजिक विकास भैसकेको साथै राज्यका हरेक तह र क्षेत्रमा उनीहरुको उल्लेख्य सहभागिता बढिरहेकोे अवस्थामा राज्यद्धारा निर्धारण गरिएको वृद्धभत्ता प्राप्त गर्ने उमेर ६० वर्ष र ७० वर्ष को असमानतालाई हटाउनुपर्नेमा सम्पूर्ण ज्येष्ठ नागरिकहरुमा एकमत रहेको छ । साथै ज्येष्ठ नागरिक सम्बन्धी बनेका ऐन, कानुन, नियम तथा कार्यविधीहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्नु गराउनु आजको आवश्यकता रहेको छ ।
ज्येष्ठ नागरिकहरुको संरक्षण र सामाजिक सुरक्षाको लागि आर्थिक स्रोतहरुको परिचालन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको सहभागिता वृद्धि गराउने, ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप, दक्षता र क्षमतालाई उपयुक्त र प्रभावकारी तरिकाले सदुपयोग गर्नुका साथै ज्येष्ठ नागरिकहरु प्रति आदर, सत्कार र सद्भावको अभिवृद्धि गर्न सके मात्र समाजका सम्पूर्ण ज्येष्ठ नागरिकहरुको जीवनस्तर सरल, सहज र पुर्ण रुपमा सुरक्षित बनाउन सकिन्छ । राज्यको सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रहरुमा हरेक ज्येष्ठ नागरिकहरुको सक्रिय सहभागिता गराउँदै उमेरको असमानता र विभेद हटाई दिगो विकासको लक्ष्य हासिल गर्न गराउनका लागि सम्पूर्ण सरोकारवालामा एकमत रहोस, २९ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सतत् शुभकामना ।
(यो लेख स्नातकोत्तर तहको शोधपत्रमा आधारित रहेर लेखिएको हो )


न्यु कालीगण्डकी दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’