दूधको भरोसा -बिदेशबाट फर्केका युवाको नमुना डेरी उद्योग

पर्वत /धेरै नेपाली युवा वैदेशिक रोजगारीमा जाने गरेका छन्। राम्रो पैसा कमाउने सपना बुनेर जाने युवा विदेशमा सोचेजस्तो र भनेजस्तो काम र पैसा नभएपछि फेरि स्वदेश फर्किएर आफ्नै उद्यम गरिरहेका उदाहरण प्रशस्तै पाइन्छन्। तिनै उदाहरणमध्ये एक बनेका छन्, पर्वत सदरमुकाम कुश्मा बजारका युवा। कुश्माका सक्रिय युवाको समूहले धौलागिरी क्षेत्रमै नमुना डेरी उद्योग सञ्चालनमा ल्याएका छन्।

लामो समय वैदेशिक रोजगारीमा गएर फर्किएका स्थानीय युवाले झण्डै साढे तीन करोड रुपैयाँको लगानीमा अत्याधुनिक प्रविधि प्रयोग गरी ‘च्वाइस डेरी उद्योग’ सञ्चालनमा ल्याएका हुन्। १० वर्षसम्म कोरिया बसेका युवा ईश्वर केसी, आठ वर्ष कोरियामा बसेका लक्ष्मण पौडेल, लामो समय खाडी मुलुकमा बसेका प्रेम गुरुङ र स्थानीय समाजसेवी किशोर भण्डारीले २५÷२५ प्रतिशतको दरले लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका छन्।

पर्वतवरिपरि ठाउँका कृषकले उत्पादन गरेको दूधलाई खपत गरी विभिन्न दुग्धपदार्थ उत्पादन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको ईश्वर केसीले बताए। ‘पछिल्ला समय ग्रामीण क्षेत्रका कृषकको पशुपालनतर्फ आकर्षण बढेको छ,’ उनले भने, ‘तर, उत्पादित दूधले उचित मूल्य नपाउने र बजार अभावमा मिल्क होलिडेसमेत गर्नुपर्ने अवस्था आउँछ। त्यही अवस्था अन्त्य गर्न डेरी उद्योग खोलेका हौँ।’

डेरीमा दही, पनिर, घिउ, नौनीलगायत दुग्धपदार्थ तयार पारिने गरिएको छ। दैनिक दुई हजार लिटर दूधबाट यी पदार्थ बन्ने गर्छन्। ‘दूध पनि राम्रै बिक्री हुन्छ,’ केसीले भने, ‘आधुनिक प्रविधिका मेसिनबाट गरिने हुँदा गुणस्तरीय सामग्री उत्पादित हुन्छ। सरसफाइमा पनि विशेष ध्यान दिन्छौँ।’

अर्का सञ्चालक किशोर भण्डारी अहिले त्यहाँका किसानलाई दूध बिक्री गर्न बजार अभाव नहुने बताउँछन्। ‘अहिलेसम्म यस क्षेत्रमा परम्परागत शैलीबाट दुग्धजन्य वस्तु उत्पादन हुँदै आएका थिए,’ उनले भने, ‘त्यसैले सीमित मात्रामा उत्पादन हुन्थ्यो। बजारमा पनि अभाव भइरहन्थ्यो।’ त्यही समस्या समाधान गर्न आधुनिक प्रविधि प्रयोग गरेर उत्पादन सुरु गरेको उनले बताए।

उद्योगमा अहिले स्थानीय १५ जना युवाले रोजगारी पाएका छन्। मासिक दुई लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको भण्डारीले बताए। बजारको मुख्य चोकमै दुई रोपनी जग्गा २० वर्षका लागि लिजमा लिएर सञ्चालन गरेको उद्योगबाट उत्पादित वस्तु पर्वतका मुख्य बजार, छिमेकी जिल्ला म्याग्दी, बागलुङका बजारमा समेत बिक्री गरिने सञ्चालकमध्ये एक लक्ष्मण पौडेलले बताए। ‘उद्योगको आफ्नै गाडी छ,’ उनले भने, ‘उत्पादित वस्तु आफैँ ठाउँ–ठाउँमा पुर्‍याइदिने गरेका छौँ।’

‘लामो समय विदेश बसियो,’ पौडेलले थपे, ‘अरूको देशमा पसिना बगाउनुभन्दा आफ्नै जन्मभूमिमा परिश्रम गर्नु राम्रो हुने ठानेर उद्योगमा हात हालेका हौँ।’

व्यावसायिक रूपमा कृषि र पशुपालन क्षेत्रमा लागेका कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले उद्योगमा हात हालेको ईश्वर केसीले बताए। ‘‘दूधको राम्रो मूल्य पाउँदिनँ’ भनेर किसानले अब निराश हुनु पर्दैन,’ उनले भने, ‘विदेश जानुपूर्व उद्योग गर्न लगानी थिएन। वैदेशिक रोजगारीबाट केही पैसा कमाइयो र लगानी गर्ने भइयो।’

‘पहिला देशमा अवसर नदेखेर विदेश पुगियो,’ किशोर भण्डारीले भने, ‘त्यहाँको अवस्था देखेपछि स्वदेशमै पनि गर्न सकिँदो रहेछ भन्ने लागेर उद्योग सञ्चालन गरेका हौँ।’ अन्नपुर्णपोष्टको सम्पुर्ण बिशेषाँकले समाचार छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’